अमेरिकी राष्ट्रपतीय चुनावमा चीनविरुद्धको मुद्दा प्रमुख



वासिङ्टन, (एजेन्सी)
अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावमा चीन एक ठूलो चुनावी मुद्दा बनिरहेको छ । कुनै पनि देशमा सत्ताका लागि हुने चुनावमा प्रतिद्वन्द्वी वा छिमेकी देशविरुद्धको राष्ट्रवादको मुद्दा उछालिनु सामान्य विषयमा हो । तर विश्वकै शक्तिशाली देश अमेरिकामा यसरी कुनै देशविरुद्धको राष्ट्रवाद चुनावी मुद्दा हुनुले विश्वमा अमेरिका र चीनले बनाएको आआफ्नो स्थानलाई संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

आगामी नोभेम्बरमा हुन गइरहेको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवार जोय बाइडेन चीनविरुद्ध टीकाटिप्पणीमा एक अर्कालाई उछिन्ने होडमा लागेका छन् । दुवैले चीन सम्बन्धित मुद्दामा आफूले राम्रो र सावधानीपूर्वक सम्हाल्न सकिन्छ भन्ने अभिव्यक्ति दिइरहेका छन् ।

ट्रम्पको चुनाव अभियान प्रबन्धकले यस्तै आसयको विज्ञापन निकालेका छन्, जसमा बाइडेन चिनियाँ राष्ट्रपति सी जिनपिङको चाकडीमा लागिरहेको देखाइएको छ । अर्कोतर्फ बाइडेनको चुनावी अभियानले ट्रम्प कोरोना भाइरसलाई हल्कारूपमा लिँदै महामारीका बारेमा पारदर्शी रहनुपर्ने विषयमा जिनपिङको सराहना गरिरहेको देखाइएको छ ।

चुनावमा चीन तेस्रो ठूलो मुद्दा बनेको छ । विज्ञापनको समीक्षा गर्ने रिपब्लिकन पोल्स्टर फ्रयांकले दुईबीच कडा प्रतिस्पर्धा हुन्छ भन्ने आफूलाई लागेको तर यसबाट कसलाई बढी फाइदा हुन्छ, थाहा नभएको बताए । राष्ट्रपति चुनावमा अर्थव्यवस्था र कोरोना भाइरससँग लड्ने कदमसँगै चीन तेस्रो ठूलो चुनावी मुद्दा भएको उनले बताए ।

चीनको अनुचित व्यापार व्यवहार, बढ्दो विश्वव्यापी असन्तुष्टि र मानव अधिकारको उल्लंघनविरुद्ध ट्रम्प अथवा बाइडेनमध्ये कसले अमेरिकालाई सशक्तरूपमा प्रस्तुत गर्न सक्ला भन्ने प्रश्न मतदाताबीच चर्चाको विषय हुने उनले बताए । जुन नेता चिनियाँ नेताहरूको अधीनमा देखिन्छ, चुनावमा उसलाई नै सबैभन्दा धेरै नोक्सान हुनेछ ।

अमेरिकी चुनाव साम्यवादी चीनलाई लिएर डेमोक्र्याटभन्दा रिपब्लिकन उदार मानिन्छ । त्यसैले पनि विगतका अमेरिकी चुनावमा चीनको झुकाव डेमोक्र्याटभन्दा रिपब्लिकन उमेदवारप्रति नै बढी देखिने गरिन्थ्यो । तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनविरुद्ध वयापार युद्ध तथा पहिला अमेरिकालगायत अन्य आक्रामक नीतिले चुनावी मुद्दा जानीनजानी चीनविरुद्धको राष्ट्रवादतर्फ ढकेलिएको छ । यद्यपि चीन यसअघिको भन्दा अमेरिकाका लागि सबै क्षेत्रमा चुनौती बनिसकेको तथ्य पनि सत्य हो ।

अमेरिकामा कोरोना भाइरस फैलिएपछि गरिएको एक सर्वेक्षणमा अमेरिकी नागरिकमा चीनविरुद्ध नकारात्मक धारणा बढेको देखिएको थियो । उक्त सर्वेक्षणले ६६ प्रतिशत नागरिकले चीनविरुद्ध प्रतिक्रिया दिएका थिए । सन् २००५ पछि यो चीनविरुद्ध अमेरिकी जनतामा देखिएको सबैभन्दा खराब प्रतिक्रिया मानिएको छ । यस परिस्थितिमा चुनावमा सम्भावित उम्मेदवार चीनविरुद्ध एक अर्कोभन्दा राम्रो विकल्प प्रमाणित गर्न प्रयासरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्