निक्षेपको ब्याजदर घट्ने



नेपाल समाचारपत्र, काठमाडौं

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी उच्च देखिएको छ । बन्दाबन्दीका कारण लगानी नहुँदा तरलता उच्च देखिएको हो ।

बैंकमा नगद उच्च भएका कारण निक्षेपको ब्याजदर परिवर्तन हुने भएको छ । अधिक तरलता रहेको भन्दै ब्याजदर परिवर्तन गर्न जोड दिँदै आएका बैंकरहरूबीच भएको ब्याजदरको पूर्वसहमति तोडिएको छ । नेपाल बैंकर्स एसोसिएनले सोमबार निक्षेपको ब्याजदरमाथि लगाइएको ‘क्याप’ हटाउने निर्णय गरेको छ ।

पूर्वसहमति तोडिएसँगै बैंक आफैैले ब्याजदर तय गर्नेछन् । पछिल्लो सहमतिअनुसार बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती निक्षेपमा ८ दशमलव ५ प्रतिशत र बचतको ५ दशमलव ५ प्रतिशत ब्याज दिँदै आएका थिए ।

बैंकरहरूबीच आफूखुसी ब्याजदर तय गर्ने सहमति भएपछि साउनदेखिको निक्षेपको ब्याजदर नयाँ हुने एक बैंकरहरूले बताएका छन् । बैंकरहरू निक्षेपको ब्याजदर घटाउन सहमति भएपछि अहिले बैंकिङ प्रणालीमा रहेको नगद अनौपचारिक क्षेत्रमा स्थानान्तरण हुनसक्ने खतरा रहेको एक बैंकरले बताए ।

उनले भने– ‘अहिले पनि कर्जाको ब्याजदरअनुसार निक्षेपको ब्याजदर त्यति उच्च त होइन तर तरलता अधिक रहेको भन्दै पूर्वसहमति तोड्दा भोलि पुँजी पलायन हुने अवस्था सिर्जना हुन पनि सक्छ । साथसाथै समय केही फेरिएको स्थितिमा धेरैको निक्षेप खोसिन सक्ने खतरासमेत आउन सक्छ ।’

बैंकर स्रोतका अनुसार अहिले वाणिज्य बैंकहरू एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढीको तरलता रहेको बताइएको छ । असार महिनामा मात्र बैंकहरूको निक्षेप संकलन १ खर्ब १३ अर्ब रुपियाँले बढेको छ । चैत महिनामा तिर्नुपर्ने कर्जाको साँवा ब्याज तथा अन्य भुक्तानी बन्दाबन्दीका कारण एकैपटक असारमा तिर्दा बैंकमा नगद उच्च भएको छ ।

पछिल्लो सातामा बैंकहरूमा ६५ अर्ब रुपियाँको हाराहारीमा निक्षेप थपिँदा बाणिज्य बैंकहरूमा कुल ३३ खर्ब ८८ अर्ब रुपियाँभन्दा बढी निक्षेप हुँदा कर्जा २८ खर्ब ४२ अर्ब रुपियाँभन्दा बढी भएको बताइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा करिब छ खर्ब रुपियाँ वाणिज्य बैंकहरूमा निक्षेप थपिएको छ ।

वाणिज्य बैंकहरूमा निक्षेप थपिनुको कारणमध्ये केही बैंकले उच्च निक्षेप जम्मा गरेका विकास बैंकलाई गाभेका कारण निक्षेपको आकार ठूलो भएको बैंकरहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्