प्रदेश ५ का २ वटा निजी प्रयोगशालाले पाए पिसीआर परीक्षणको अनुमति



यमलाल भुसाल,बुटवल ।

प्रदेश ५ का २ वटा निजी प्रयोगशालाले कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति पाएका छन । काठमाडौं उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले पिसिआर परीक्षणको अनुमति पाएका छन् ।

सरकारले ४ वटा काठमाण्डौ उपत्यका २ वटा उपत्यका बाहिरका गरि ६ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताउनुभयो ।

उपत्यका भित्रका स्टार अस्पताल काठमाडौं, काठमाडौँ मेडिकल कलेज काठमाडौँ, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी काठमाडौँ र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाल पिसिआरको परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पिसिआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए ।

हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा छ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ । अन्य प्रयोशाला मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणका लागि अनुमति दिन्छौँ ।

ती १९ मध्ये नौ वटा प्रयोगशालाको भने आफ्नै पिसिआर परीक्षण गर्ने मेसिन रहेको थियो । ती छ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभई मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक वटा नमूना परीक्षणको रु पाँच हजार ५सय शुल्क लिन पाउनेछन् ।

यसअघि सरकारले सातै प्रदेशका सरकारी एक/एक प्रयोगशालामा पाँच हजार ५सय रुपैयाँ शुल्कमा पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्