तत्काल क्लिन फिड नीति लागू गर्ने बारे संयुक्त ज्ञापनपत्र



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने कार्यन्वयनमा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन । २०७३ साउन ७ गतेको मन्त्रीपरिषदको बैठकद्वारा पारित भएको विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति लागु गर्न भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन ।

नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिंग एशोशिएशन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ(एक्युर्याव)ले संयुक्त रुपमा बुझाएको सो पत्रमा स्वदेशी उत्पादन र उद्योगलाई सहयोग र विस्तारका लागि प्रवर्धन गर्नुका साथै परनिर्भरतलाई समेत कम गर्न क्लिन फीड नीति तत्काल लागू गर्न माग गरिएको छ ।

२०७३ साउन ७ गतेको मन्त्रीपरिषदको बैठकद्वारा पारित भएको सो नीति विविध कारणले तत्काल लागू हुन सकेको थिएन । तर वर्तमान सरकार बनेपछिे विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीतिलागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेको छ ।

‘विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानलपूर्ण रुपमा विज्ञापन रहित हुनु पर्दछ भन्ने हो । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केवल, डिटिएच, इन्टरनेट, समामिजक सञ्जाल, युट्युवलगायत डिजिटल प्यलटफर्म) भन्ने पनि स्पष्ट गरिनु पर्दछ ।’ -पत्रमा भनिएको छ ।

नेपालले आफ्नो परिमार्जित नक्साजारी गरेपछि केही भारतीय संचार माध्यमहरुबाट नेपाल र प्रधानमन्त्री र अर्को छिमेकी देशको समेत नाम जोडेर कपोलकल्पित, दुराशयपूर्ण एवं भ्रामक समाचार प्रकाशित र प्रसारित गरिरहेका छन् ।

बिदेशी राजदुतसँग नेपाली नेताहरुलाई समेत जोडेर एकदम तल्लो स्तरको टिप्पणी पनि गर्न थालेका घटनाप्रति घोरभत्र्सना गर्दै खेद प्रकट गरेको संयुक्त पत्रमा भनिएको छ । भारतीय मिडियाहरुको नेपालप्रतिको रबैयाले एकातिर पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता, अभ्यास र सामान्य सिद्धान्तको खिल्ली उडाएको छ भने अर्कोतिर भारतीय मिडियाले आफैलाई नंग्याएको छ ।

दुई देश बीचको मित्रवत सम्बन्धमा र सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति सृजना हुंदै गएकोले त्यसलाई रोक्नका लागि पनि आगामी कार्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फीड नीतिलाई श्रावण १ गतेदेखि नै लागु गर्न मागसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्