टोटनह्यामको कठिन जित



लन्डन, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले आर्सेनलमाथि कठिन जित निकालेको छ ।

आईतबार राति भएको लिगको ३५औं चरणको खेलमा टोटनह्यामले आफ्नै मैदानमा आर्सेनलमाथि २–१ को कठिन जित निकालेको हो । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याएर टोटनह्यामले अन्तिम समयमा जित आत्मसात गर्‍यो । खेलको १६औं मिनेटमा एलेक्सान्ड्रे लाकाजेटले गरेको गोलबाट पाहुना टोली आर्सेनलले खेलमा अग्रता लिएको थियो । तर, आर्सेनलको अग्रता धेरैबेर टिकेन ।

गोल खाएको ३ मिनेटमै टोटनह्यामका लागि सन हेङ मिनले गोल गरेर खेल बराबरी ल्याएका थिए । त्यसपछि बराबरीको अवस्थाबाट अघि बढेको खेलमा टोटनह्यामलाई जित दिलाउन खेलको ८१औं मिनटमा टबी अल्डरवेल्र्डले हेडिङमार्फत् गोल गरे ।

यो जितपछि टोटनह्यामले लिग तालिकामा टप–६ को सम्भावना बढाएको छ । टोटनह्याम ३५ खेलबाट ५२ अंक जोडेर आठौं स्थानमा उक्लेको छ । टोटनह्याम छैटौं स्थानको उल्भ्सभन्दा ३ र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछि छ । पराजित आर्सेनल ५० अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्