लकडाउनको कारण रकम ढिलो दिइयो



हेटौंडा, (नेस)
कोरोनाभाइरसको कारण देशमा लकडाउन भएपछि सबै क्षेत्रमा निकै असर गरेको छ । यसमा खेलक्षेत्र त झनै प्रभावित बनेको छ । खेल कहिले शुरु हुने थाहा पनि छैन । यस्तोमा पछिल्लो प्रतियोगितामा विजेता भएको टिमले समेत पुरस्कार पाउन निकै कुर्नुप¥यो ।

हेटौंडामा फागुन १४ गतेदेखि १६ गतेसम्म केशवलाल श्रेष्ठ स्मृति नगरकप महिला भलिबल प्रतियोगिता भएको थियो । त्यो समयमा पुरस्कार दिइएको थिएन । अहिले ५ महिनापछि बल्ल विजेता टोलीलाई पुरस्कारबाट सम्मान गरियो ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित नगरकप महिला भलिबल प्रतियोगितामा विजेता बनेको १९ वडा नम्बर र उपविजेता १४ वडा नम्बरले पुरस्कार रकम प्राप्त गरे । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले पुरस्कारबापत ५० हजार रकम आउन ढिला भएको र लकडाउनका कारण खेलाडीको सम्मान गर्न ढिलाइ भएको जनायो । प्रतियोगिताको फाइनलमा १४ वडालाई २५–१९, २५–१७ र २५–१५ को सेटमा हराउँदै १९ वडा विजयी भएको थियो ।

हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद र प्रशंसापत्रसहित सम्मान गरेको हो । १० खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकलाई वडाध्यक्ष नरनाथ सुवेदी, वडा सदस्य इन्दिरा तामाङ, वडा सचिव वसन्तकुमार सिटौला, मकवानपुर जिल्ला भलिबल संघ सदस्य राजु घलेलगायतले सम्मान गरेका हुन् ।

‘उपमहानगरमा गाभिएको वडा भए पनि हामी हर क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गरेका छौं’, वडाध्यक्ष सुवेदीले भने–‘यस वर्ष विजेता हुन सफल भयौं । यसबाट हामी निकै खुसी छौं ।’ वडा कार्यालयले विकास निर्माणसँगै खेलकुद विकासलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । खेलाडीको हौसला बढाउन नगदसहित प्रशंसापत्र प्रदान गरिएको वडा सचिव सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्