उहान प्रयोगशालाका विज्ञहरु पश्चिमी गुप्तचरको सम्पर्कमा आइरहेको दाबी

डब्ल्यूएचओ टोली चीनमा



न्युयोर्क, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुख्य रणनीतिकार स्टिव बेननले चीनको वुहानस्थित विवादास्पद ल्याबका विज्ञहरु पश्चिमी गुप्तचर एजेन्सीसँग मिलेर काम गरिरहेको दाबी गरेका छन् ।

कोरोना भाइरसको महामारी उहान वायरोलोजी ल्याबबाट चुहावट भएको र त्यसलाई लुकाउनु भनेको हत्या बराबर हो भन्ने आशयमा केस तयार गरिरहेका ती एजेन्सीहरुलाई ती विज्ञहरुले मद्दत गरिरहेको बेननले द मेलसँगको साक्षात्कारमा खुलासा गरेका छन् ।

यसअघि हङकङका एक विज्ञले पनि कोरोना भाइरसका बारेमा चीन र डब्ल्यूएचओलाई पहिल्यै थाहा भइसकेका तर उनीहरुले लुकाएको आरोप लगाउँदै त्यहाँबाट भागेका थिए ।

चीनबाट भागेका केही चिनियाँ अमेरिकी गुप्तचर एजेन्सी एफबीआई पुगेको र उहानमा के भएको थियो भन्ने रहस्य बुझ्ने प्रयासमा मिलेर काम गरिरहेको बेननले दाबी गरेका छन् । उनले भने– ‘उनीहरु अहिले सञ्चार माध्यमसँग कुरा गरिरहेका छैनन् तर उहान र अन्य ल्याबका विज्ञहरु पश्चिम आएका छन् । चीनको कम्युनिस्ट पार्टीविरुद्ध प्रमाण दिइरहेका छन् । मलाई लाग्छ मानिसहरु चकित पर्नेछन् ।’

फेब्रुअरीपछि नै चीन र हङकङबाट सम्बन्धित व्यक्तिहरु आइरहेको उल्लेख गर्दै अमेरिका यसलाई लिएर कानुनी मुद्दा तयार गरिरहेको र त्यसमा समय लाग्न सकिने बेननले बताए ।

चीनको उक्त ल्याबमा सार्सजस्ता भाइरसविरुद्धको खोप तथा औषधी तयार गर्न परीक्षणका क्रममा त्यहाँबाट भाइरस चुहावट भएको हो भन्ने तथ्यमा केन्द्रित रही अमेरिकामा केस तयार गरिरहेको अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलमा बसिसकेका बेननले बताए ।

ती प्रयोगशालामा अनुमति नभएका खतरनाक विषाणुको परीक्षण भइरहेको हुनसक्ने उल्लेख गर्दै कोरोना भाइरस कुनै मानवको माध्यमबाट ल्याबबाट बाहिरिएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

चीनबाट पलायन भएकासँग कुरा गर्ने अमेरिका, युरोप र बेलायतका गुप्तचर एजेन्सीले महŒवपँर्ण प्रमाण हासिल गरिसकेको बेननले बताए ।

यसैबीच विश्व स्वास्थ्य संगठनको पहिलो टोली कोरोना भाइरसको स्रोत पत्तालगाउन चीन प्रस्थान गरेको छ । यस टोलीमा विश्व स्वास्थ्य संगठनका दुई विज्ञ पनि छन् जसले चीनका वैज्ञानिकसँग मिलेर छानबिनको प्रारुप तय गर्नेछन् । डब्ल्यूएचओले अहिलेसम्म उक्त टोलीमा कोको समावेश भएका छन् र जाँचको उद्देश्य के हुने हो भन्ने विषयमा खुलासा गरेको छैन ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिसले कोरोना उत्पत्तिको जाँचका लागि पशु विज्ञान र महामारी विज्ञानका दुई विशेषज्ञ चीन प्रस्थान गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्