हङकङ नै रित्तिने सम्भावना



हङकङ, (एजेन्सी)
चीनले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेदखि अधिकांश स्वतन्त्रताप्रेमी हङकङबासीहरु विदेशिने मनस्थितिमा योजना बुन्न थालेका छन् । बेलायती राष्ट्रिय (समुद्रपारी) अर्थात् बीएनओ पासपोर्टअन्तर्गत ३० लाख हङकङबासीले हङकङ छाड्न सक्छन् । के साँच्चै यत्रो संख्याका हङकङबासी बेलायत पुग्छन्? बाँकीको के हुन्छ त भन्नेजस्ता प्रश्न अझै अनुत्तरित छन् ।

यसै क्रममा माइकल र सेरेना दम्पतीले यसअघि कहिल्यै पाइला नटेकेको भूमि अर्थात् बेलायत जाने निर्णय गरेको छ । सन् १९९७ को जुलाईमा हङकङ चीनलाई हस्तान्तरण गरिनुअघि यो विशेष पासपोर्ट हङकङबासीलाई बाँडिएको थियो ।

पहिले बेलायत र युरोप घुम्न सजिलो हुने हिसाबमा यो पासपोर्टलाई लिइने गरिन्थ्यो । माइकल र सेनाले भने लामो समयसम्म भएको सडक प्रदर्शन र हाल कार्यान्वयन गरिएको नयाँ कानुनले गर्दा आफँहरुले हङकङमा बस्न असहज महसुस गरेको बताएका छन् ।

अहिले करिब ३ लाख ५० हजार जनासँग बीएनओ पासपोर्ट छ । बेलायत सरकारले यो पासपोर्ट लिनेको कुल संख्या करिब २९ लाख पुग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्