उपभोक्ताले जिम्मा लिएका सम्पदा निर्माण तीव्र गतिमा



ईश्वरराज ढकाल, काठमाडौं

भूकम्पले ध्वस्त भएका सम्पदा पुनर्निर्माण गर्ने जिम्मा पाएका पुजारी तथा स्थानीय समुदायले निर्माण गरेका सबै सम्पदा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभाग र स्थानीय नेवाः गुहाली पुचःले जिम्मा लिएका ४९ सम्पदामध्ये ४३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका हुन् ।

विभागका अनुसार सम्पदा पुनर्निर्माण गर्ने स्थानीय समुदायको पहिलो सूचीमा भक्तपुर नगरपालिका रहेको छ । सो नगरपालिकाले जिम्मा लिएको १६ सम्पदामध्ये सबै पुनर्निर्माण सम्पन्न गरिसकेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले भूकम्प गएको ६ वर्षपछि सबै सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो समय स्थानीयले जिम्मा लिएपछि समयमै काम सम्पन्न भएको छ । सो नगरपालिकाले भक्तपुर दरबारक्षेत्रका १२ सहित १६ सम्पदा पुनर्निर्माण सम्पन्न गरेको हो ।’

तथ्यांकअनुसार स्वयम्भू विकास समितिबाट ६ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । कीर्तिपुर नगरपालिकाले पाँगा पाटी र हर्षकीर्ति विहारको पुनर्निर्माण सम्पन्न गरेको छ । हेरिटेज एन्ड इन्भ्यारोमेन्ट कन्जरभेसन फाउन्डेसन नेपालले १, हनुमानढोका दरबार क्षेत्र विकास समितिले हनुमानढोका दरबार क्षेत्रका ६, बौद्ध विकास समितिले बौद्धस्तूपा, मियामोतो रिलिफ फन्डको सहयोगमा हनुमानढोकाको गद्धी बैठक र मध्यपुर थिमि नगरपालिकाले सिद्धि गणेश मन्दिर, स्विस सरकारबाट दोलखा भीमेश्वरको त्रिपुरासुन्दरी र तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न गरिएको छ ।

४९ मध्य काठमाडौं महानगरपालिकाले जिम्मा लिएको १० वटामा ४ मात्र सम्पन्न भएको छ । स्थानीय टोल र विभिन्न संघसंस्थाले जनसहभागिताको आधारमा पुनर्निर्माण गर्नुपर्ने बताएपछि विभागले महानगरपालिकालाई जिम्मा दिएको थियो । हनुमानढोका दरबार क्षेत्रको १० वटा सम्पदामध्य ४ वटा पुनर्निर्माण हुन बाँकी रहेको छ ।

विभागका प्रवक्ता कुँवरले पछिल्लो समय पुजारी तथा स्थानीय नेवाः गुहाली पुचःको सहभागितामा पुनर्निर्माण गर्दा समयमै सम्पन्न हुन थालेको बताउनुभयो । उहाले नयाँ मोडालिटीबाट काम गर्न केही सहज हुन थालेको बताउनुभयो ।

विभागले श्रीलंका सरकारको बजेटमा निर्माण हुन नसकेको बुंगमतीको रातो मच्छेन्द्रनाथको मन्दिर पनि उपभोक्ता समितिमार्फत निर्माण गर्ने निर्णय गरेको छ । ललितपुर उद्योग वाणिज्य संघले जिम्मा लिएको भीमसेन मन्दिर र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुरु गरेको रानीपोखरी, स्थानीय सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपलगायत केही सम्पदा पुनर्निर्माणको क्रममा रहेका छन् ।

विभागको तथ्यांकमा भूकम्पले क्षतिग्रस्त ७ सय ३७ मध्ये हालसम्म ४ सय ९ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । भारतीय अनुदानको २८ , एडीबीको २० र केभीपीटीको १४ सम्पदा र भवन अझै सम्पन्न हुन सकेको छैनन् ।

ठूला दातृ निकायले जिम्मा लिएका सम्पदाहरु ६ वर्ष बितिसक्दा एउटा पनि पुनर्निर्माण सम्पन्न भएका छैनन् । विभागले ती निकायको प्रगतिको बारेमा जानकारी लिइरहेको जनाएको छ । विभागका प्रवक्ता कुँवरले बहुवर्षीयबाहेक अधिकांश ठेक्का समयमा पूरा भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्