जाजरकोट बाढीपहिरोको कहर: गाउँपालिका अध्यक्षसहित ६ सय घरधुरी विस्थापित



वासुदेव शर्मा, जाजरकोट

जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्षदेखि स्थानीयबासी विस्थापित भएका छन् । गत बिहीबारदेखि भएको अविरल वर्षाका कारण बारेकोटका विभिन्न स्थानमा बाढीपहिरो आउन थालेपछि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, वडा अध्यक्ष अजवीर सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहलगायत करिब ६ सय घरधुरी विस्थापति भएका छन् ।

पहिरोको जोखिम बढेकाले नागरिकहरु घर छोडेर सुरक्षित स्थानमा खुला आकासमुनि बस्न बाध्य छन् । बारेकोट–५ तोलखाना स्थायी घर भएका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहलगायतका स्थानीयले घर छोडेर सुरक्षित स्थान खोज्दै त्रिपाल टाँगेर जंगलमा बस्न बाध्य छन् । गाउँदेखि माथिको जंगलमा त्रिपाल हालेर परिवारको बासस्थान बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिम भएकाले तोलखानाका सबै घरपरिवार आ–आफ्नो घर छोडेर सुरक्षित स्थान खोज्दै बस्न थालेका छन् । केही घरपरिवार कालिका प्राथमिक विद्यालय सिलिङचौर कालाखोली भवनमा बसेका छन् । पहिरो प्रभावित क्षेत्र बारेकोट–४ को मैना, ठाकुर जिरी, सार्कीटोल तलीगाउँ र गोठगाउँका करिब २ सय ५० घरपरिवार पहिरोबाट प्रभावित भएका छन् ।

त्यहाँका नागरिकलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीको भवनमा राखिएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो ।

विद्यालयको भवनमा अटाउन नसकेका घरपरिवार जंगल भित्र त्रिपाल टाँगेर बसेका छन् । कतिपय नागरिक ओडारमा बसेका छन् भने केही रावत जिरी र पातल जिरीका गाउँलेहरुको घरमा आश्रित भएका छन् ।

बाढीपहिरोले बारेकोट–५ तोलखाना, कालाखोली, भैलोखान, वडा नम्बर १ को धौलाकोट, कोटली तलिआगर, रामिडाँडा, वडा नम्बर ६ को धुमा, काउली कार्कीज्युलालगायतका नागरिकहरु प्रभावित भएको अधिकृत सिंहले बताउनुभयो । वडा नम्बर ४ बाहेक अन्य वडाका बाढीपहिरो प्रभावित करिब ६ सय घरधुरीले बस्ने बास, खाने रासन, ओड्ने ओछ्याउने लत्ताकपडाको माग गर्दै गाउँपालिकामा निवेदन दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहले बताउनुभयो ।

बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । हालसम्म ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता ३ जनाको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयहरुले खोजी तथा उद्धारको काम जारी राखेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । बारेकोट–६ धुमाखोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्