उर्वर भूमिमा बक्सिङ क्लबहरु धमाधम



न्युज अफ नेपाल, हेटौंडा ।

बक्सिङ खेलको उर्वर भूमि मकवानपुरमा बक्सिङ क्लबहरु धमाधम खुल्न लागेका छन् ।जिल्ला बक्सिङ संघका सदस्य तथा पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी अनिल दाहालको पहलमा हेटौंडा–१४ मा युनिक बक्सिङ क्लब गठन भएको हो । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडा—१४, नयाँबस्तीमा गोकुल मोक्तानको नेतृत्वमा क्लबको ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।

कार्यक्रममा मकवानपुर जिल्ला बक्सिङ संघ अध्यक्ष दीपेश जोशीले बक्सिङलाई जोगाएर राख्न र इच्छुक खेलाडीहरु प्रशिक्षणका लागि समस्या पर्ने हुनाले स्थानीयस्तरमा नै समिति गठन गरेर नयाँ खेलाडी उत्पादनको प्रयास गरिएको बताए ।

वडा अध्यक्ष दीपक खड्का, बागमती खेलकुद विकास परिषद् सदस्य माधब तिमल्सिना, बक्सिङ केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला बक्सिङ संघ पूर्वअध्यक्ष भेष खड्की, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानुकुमार लामा, मकवानपुर जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख/सचिव खुशराज दाहाल, मकवानपुर जिल्ला बक्सिङ संघ पूर्वअध्यक्ष/पूर्वबक्सिङ खेलाडी तथा राष्ट्रिय रेफ्री इन्द्रबहादुर श्रेष्ठ, पूर्वअन्तर्राष्ट्रिय खेलाडी सुशील घिमिरेलगायतले बक्सिङका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर घिमिरे हाल चन्दा संकलन गरेर हेटौंडामा कभर्डहल निर्माणमा जुटेका छन् । हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविको मैदानमा कभर्डहल निर्माणमा उनी लागिपरेका हुन् ।
पूर्वखेलाडीहरुबाट प्राप्त सहयोगबाट हौसिएर उनले करिब ४० लाख लागत अनुमान गरिएको कभर्डहल निर्माण थालेका छन् ।

उनीसहित पिप्लेबाट हालसम्म सुसन मानन्धर, सबिन नेपाली, साजन ठकुरी तथा तिलकप्रसाद गौतमलगायत खेलाडीले बक्सिङको अन्तर्राष्ट्रिय रिङमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनले सशस्त्र प्रहरीको एपीएफ क्लबबाट खेलेका थिए ।

उनले आफ्नो खेलजीवनमा नेपालका लागि चार अन्तर्राष्ट्रिय पदकसमेत जितेका थिए । त्यसमध्ये उनले श्रीलंका सम्पन्न दशौं सागमा जितेको रजत पदक सबभन्दा ठूलो हो । व्याबसायिक खेल जीवनपछि उनले करिब सात वर्ष वैदेशिक रोजगारीमा बिताए । उनी हाल फेरि भूमिका परिवर्तन गरेर खेलाडी उत्पादन सुरु गरेका छन् । उनी हेटौंडामा बक्सिङ प्रशिक्षण गराइरहेका छन् । हाल दैनिक ७० खेलाडीलाई प्रशिक्षित गराउँछन् उनी ।

प्रतिक्रिया दिनुहोस्