नामको मात्रै भानुग्राम



मिला दरै,तनहुँ ।

‘मेरा इनार, त त सत्तल पाटी केही छन्
जे चिज र धनहरु छन् घर भित्र नै छन्

त्यो घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी कीर्ति’

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले घर र आफ्नो कीर्तिमा घाँसीको बारेमा व्याख्या गर्दै कुनै कीर्ति नराखीकन घरमा मात्रै बस्नु धिक्कार हो भन्ने आशय भानुले उल्लेख गर्नुभएको छ । उहाँकै आदिकवि भानुभक्तको श्लोकमा व्यक्त गरेझैं उहाँको जन्म घरको उचित संरक्षणको अभावले खण्डहर बन्दै गएको छ ।

आज भन्दा २०७ वर्ष अघि भानु नगरपालिका वडा नम्बर ४ को शिखरकटेरीमा भानुभक्त आचार्यको जन्म भएको थियो । आज भानु जन्मेको घर भत्किएर खण्डहर भएको मात्र देख्न सकिन्छ । छरिएका भाषाको एकीकरण गरेर एकिकृत पार्नुभएका भाषिक प्रतिक आदिकवि भानुभक्त आचार्यको घरभित्र साना, ठूलो रुखका बिरुवाहरु हुर्किदै गरेको देखिन्छ ।

भानुभक्त आचार्यको नाममा उहाँको जन्मजयन्तीको अवसरमा हरेक वर्ष देश विदेशमा ठुला ठुला कार्यक्रम हुन्छन् । तर आज २०७औं भानु जयन्तीको अवसरमा भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रम हुने छैनन् । भाषिक योद्धा भानु जन्मेको घर लगायत त्यस क्षेत्रलाई भानुग्राम बनाउने गुरुयोजना गरियो तर काम भने पुरा हुन सकेको छैन ।

त्यसतर्फ न त संघीय सरकार, न त प्रदेश सरकार तर स्थानीय सरकारलाई संरक्षणका लागि अधिकार प्रत्यायोजन गरिएको छ । भानु जन्मस्थलको विकास र त्यस क्षेत्रको संरक्षणका लागि सरकारले गठन गरेको भानुजन्मस्थल विकास समिति पनि अहिले नेतृत्व विहिन छ । देश संघीय संरचनामा गएपछि उक्त विकास समिति स्थानीय तह मातहत राखिएपश्चात् समिति नेतृत्व विहीन भएको भानु जन्मजस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाटले बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले समिति नेतृत्व विहिन हुँदा कामहरु सबै अलपत्र भएका छन् । भाषिक एकताका प्रतिक तथा राष्ट्रिय विभुती भानुभक्त आचार्यको नाममा रहेको संरचनालाई कुनै एक स्थानीय तहको मातहत मात्र राखिँदा त्यसले राष्ट्रिय महत्व पाउन नसकेको रानाभाटको बुझाई छ ।

“विगतमा संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नै भानु जन्मस्थलको विकासका लागि बजेट विनियोजन गर्ने थियो,” रानाभाटले भन्नुहुन्छ, “सबै व्यवस्थापन भानु नगरपालिकाले नै गरेको छ ।” गतवर्ष देखि नगरपालिकाले नै भानुको जन्मजयन्तीको कार्यक्रम लगायत अन्य सबै कार्यक्रमको आयोजना र व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो ।

भानु जन्मस्थल शिखर कटेरी पुग्ने जो कोही साहित्यिक स्रष्टाहरुको मन भानुभक्तको जन्मघरको अवस्था देखेर कटक्क खाने गरेको बताउनुहुन्छ । २०७३ साल चैत २२ गते पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाले भानु जन्मघरको पुननिर्माण गर्ने घोषणा गरेको थियो । तत्कालिन मुख्य सचिव सोमलाल सुवेदी, पुर्व मुख्य सचिव लिलामणी पौडेल र मञ्चका तत्कालिन अध्यक्ष रामकाजी कोनेले भानु जन्मघरको संयुक्त रुपमा शिलान्यास समेत गरिएको थियो ।

तर त्यसपछि कुनै काम अगाडी बढाउन नसक्दा घरको संरक्षण गर्न र पुनर्निर्माण गर्नका लागि अन्य संस्थाको पहल समेत सफल नभएको जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो । आफुहरु समितिमा रहँदासम्म भानु घरको पुनर्निर्माण कार्य सुरु गर्न उक्त संस्थालाई पटक–पटक दवाव र ध्यानाकर्षण गराएपनि अहिले के पहल भइरहेको छ भन्ने बारेमा कुनै जानकारी नभएको उहाँ बताउनुहुन्छ ।

६८ लाख रुपैयाँको लागतमा गुरुयोजना सहितको भानुगृह पुनर्निर्माणको काम अगाडी बढाइने घोषणा गरिएपनि त्यसपछि कुनै काम नभएको रानाभाटको भनाई छ । मञ्चले भने खानेपानीको अभाव, भानुगृहसम्म पुग्ने सडकको अवस्था, व्यवसायीको सुरक्षा लगायतको कारण देखाउँदै तत्काल पुनर्निर्माण कार्य सुरु गर्न समस्या रहेको बताउँदै आएको थियो ।

भानु जन्मस्थल विकास समितिसँगको सहकार्यमा २०५७ सालमा चलचित्र निर्देशक यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामको चलचित्र निर्माण गर्ने क्रममा एक लाख रुपैयाँको लागतमा भानु जन्मघरको पुनर्निर्माण गरिएको थियो । तर उक्त चलचित्रको छायांकन सकिएर टोली फर्किएपछि जंगलको बिचमा रहेको उक्त घर २०६१ साल जेठमा जंगलमा आगो लाग्दा पूर्ण रुपमा ध्वस्त भएको थियो । त्यसयता भानुगृह भग्नावशेषमा परिणत भएको छ ।

भानु जन्मघर जिर्णोदार

भानुग्रामको रुपमा विकास गर्दै साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना बोकेको भानु जन्मघर आगलागीका कारण ध्वस्त भएको थियो । तर, यो घरको संरक्षणमा अझैसम्म काम हुन सकेको छैन । भानुको जन्मथलोलाई साहित्यिक पर्यटकीय स्थल बनाउने योजना पनि कथन मात्रै सिमित बनेको छ ।

‘भानुको जन्मस्थललाई साहित्यिक ग्राम बनाउने योजना चलेको वर्षौं भइसक्यो तर उहाँकै जन्मघर भग्नावशेषमा परिणत भएको छ,’ भानुभक्तका खनाती सीताप्रसाद आचार्य भन्नुहुन्छ, ‘यो सारा नेपालीका लागि लाजको विषय बन्न पुगेको छ, एउटा राष्ट्रिय विभूतीको रचना लगायतका संरचना संरक्षणमा समेत राजनीति गरिरहनुभएको राजनीतिककर्मीहरु ।’

‘भानुभक्त’ चलचित्रको छायांकनका क्रममा उहाँको घर जीर्णोद्दार गरिएपनि आगलागीपछि सो घर भग्नावशेषका रुपमा पुगेको छ । संघीयताले गर्दा भवन जीर्णोद्दारको जिम्मा लिएको पश्चिमाञ्चल विकास मञ्चले हालसम्म भवनको पुनर्निर्माणमा ठोस कदम चाल्न सकेको छैन । यसप्रति भानुभक्तका खनाती श्रीभक्त आचार्य दुःख प्रकट गर्नुहुन्छ ।

राष्ट्रिय विभूतीको जन्मघरलाई संरक्षण गरी सायित्यक क्षेत्रको रुपमा विकास गर्ने भनिएको धेरै लामो समय भएपनि पुरा गर्न सरकारले नसकेको आचार्यको भनाई छ । ‘साहित्यकारहरुको आस्थाका केन्द्र भानुको जन्मघर यो हालतमा हुनु विडम्बना हो,’ उहाँले भन्नुभयो, ‘यसको पुनर्निर्माण चाँडो हुनु जरुरी छ, तर यसप्रति कसैको पनि ध्यान पुगेको छैन, नगरपालिकाले मात्रै यसको संरक्षण र विकास गर्न सक्ने अवस्था छैन ।’

भानुको जन्मथलोको विकास

भानुको जन्मथलोको विकासका लागि सरकारले भानु जन्मस्थल विकास समिति गठन गरेको थियो । तर, समिति गठन भएको दुई दशक बढी नाघिसक्दा समेत विकासका लागि ठोस पहल गर्न सकेको छैन । संघीयता लागु भएसँगै समिति पनि विघटन भएर भानुको जन्मस्थलको विकासबाट संघीय सरकारले हात समेत झिकेको छ ।

समितिमा लामै समय नेतृत्वमा रहेका भानुकै खनाति पर्ने श्रीभक्त आचार्यले नगरपालिकाले विनीयोजन गरेको बजेटले कर्मचारीलाई तलब भत्ता समेत दिन नपुग्ने बताउनुभयो । संघीय सरकारले राष्ट्रिय विभूतीको संरक्षणबाट हात उठाएको छ, भानु नगरपालिकाको मात्रै विभूती हो भानुभक्त आचार्य ? उहाँले प्रश्न गर्नुहुन्छ ।

सबै कर्मचारी संघीय सरकारबाट नियुक्ती भएको मात्रै रहेका छन् । ‘स्थानीय तहको बजेटले कर्मचारीलाई तोकिएको तलब दिन सकिएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘यसरी कसरी विकास गर्न सकिन्थ्यो र ? सरकारले आवश्यक बजेट विनीयोजन गर्दैन विकास कसरी हुनु ।’

कथनमा मात्रै भानुग्राम

भानु जन्मस्थललाई साहित्यिक स्थल बनाउने अवधारणा आचार्य नेतृत्वले ल्याएको थियो । तर, उनी तीनपटक अध्यक्ष बन्दा पनि यो योजनाअन्तर्गत कुनै काम हुन सकेन । उहाँ बाहेक अध्यक्ष भएकाहरुले पनि यस योजनामा इँटा थप्न सक्नुभएन । बरु विगतमा तामझामसाथ हुने भानुजयन्ती कार्यक्रमसमेत ओझेलमा पर्न थालेको छ ।

विगतमा देश–विदेशका साहित्यकार आउने भानुजयन्तीको कार्यक्रम दलगत निकट रहेका समितिलाई नेता रिझाउने ठाउँ बन्न थालेपछि साहित्यकारले वर्षे झरीमा चुँदी जाने कष्ट गर्न छाडेका छन् ।हालै गीतल प्रतिष्ठान संस्थाले गरेको कार्यक्रममा भारत, चीन र म्यानमारदेखिका कविले भानु जन्मभूमि टेकेका थिए ।

उनीहरुले कवितामार्फत भानु जन्मस्थलको महिमा गाए तर हाम्रै नीति निर्माताको मनमा अझै पनि भानु बस्न नसकेको देखिन्छ । भानु नगरपालिकाले पनि आगामी आर्थिक वर्षमा भानु जन्मस्थलको विकासको लागि गतवर्ष एक मुष्ठ १८ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाका उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।

भानुग्रामको जिम्मेवारी अन्यौलमा

भानु ग्राम निर्माण गर्ने योजना पूर्व सभामुख रामचन्द्र पौडेलको समयमा बनाइएको थियो । केही काम अगाडि बढेपनि राजनीतिक अन्यौलताले त्यो पुरा हुन सकेन । संघीयता आएपछि पुरा हुने भानुवासीको अपेक्षा अझैसम्म पनि हुन सकेको छैन । भानुग्राम निर्माणको जिम्मेवारी अहिले अन्यौलमा पुगेको छ ।

विगतमा योजना तयार भएपनि संघीयतासँगै आएको परिवर्तनले योजना अनुरुपको काम हुन सकेको छैन । संघीय सरकारले पनि जिम्मेवारी नलिने र प्रदेश र स्थानीय सरकारलाई पनि अधिकार प्रत्यायोजन नगर्दा कर्मचारीलाई तलब, भत्ता लगायत संरक्षणको काममा समेत अन्यौलता छाएको छ ।

भानु नगरपालिकाले १० लाख रुपैयाँ विनीयोजन गरी १० रोपनी जग्गा खरिद गरिसकिएको नगरप्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । ‘विस्तारै थोरै थोरै बजेटबाट बनाउने योजना गरिएको छ, तर नगरपालिकाले मात्रै बनाउन भने सम्भव छैन, कोशिस भने गरेका छौं,’ उहाँले भन्नुभयो । भानु जन्मस्थलको नाममा जग्गा लिइएको र तीन तहको सरकार बन्दा नगर स्तरीय भनेर पठाएको गौलीले बताउनुभयो । निर्माण, व्यवस्थापनका लागि स्थानीय तहलाई पूर्ण रुपमा अहिलेसम्म अधिकार प्रत्यायोजन भने भएको छैन ।

रामायण भवन

भानु जन्मस्थल खण्डहर बनेपनि त्यसैको आडैमा दुई करोड ६५ लाखको लागतमा रामायण भवनको निर्माण गरिएको छ । तर भवनभित्र रामायणका रचनाहरु व्यवस्थापन गर्ने योजना लगायतका विभिन्न कार्यहरु भने अगाडि बढ्न नसकेको मेयर उदयराज गौलीले बताउनुभयो । संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोगमा तीन तलाको उक्त भवनको निर्माण गरिएको छ ।

उक्त भवनमा भानुभक्त र रामायणसँग सम्बन्धीत श्लोकहरु, विभिन्न सामग्रीहरु राखिने र सभाहल, कार्यक्रम स्थल पनि निर्माण बजेट अभावले पुरा गर्न नसकिएको उहाँले बताउनुभयो । नेपाली भाषाको राष्ट्रिय सरलीकरण गरी योगदान पु¥याएका राष्ट्रिय विभुती भानुभक्त आचार्यको जन्मस्थलको विकासमा संघीय सरकारले नै ध्यान दिनुपर्ने भएपनि नदिदा यस्तो अवस्थामा पुगेको उहाँको भनाई छ ।

संघीय सरकारको मातहतमा राखी सात धाम बनाउने योजना पुरा गर्नुपर्ने हामीहरुको माग रहेको उहाँले बताउनुभयो । “नेपालको नक्साका आधारमा सात प्रदेशलाई एकत्रित पारिएको जसरी नै सातधामलाई पनि व्यवस्थित गर्ने योजना रहेको छ, नगरपालिकाले मात्रै बजेट व्यवस्थापन गर्न नसक्ने भएकाले संघीय सरकारसँग गुहार मागेका छौं, तर हुँदैछ, हुँदैछ भन्दा भन्दै फेरि एक वर्ष बितिसक्यो तर पुरा यहाँको बारेमा अहिलेसम्म केही पनि भएको छैन, भानुभक्तको विकासका लागि आवश्यक बजेट नगरपालिकाले मात्रै गर्न सकिदैन, भानुभक्तको योगदानलाई स्थायित्व दिन र देश विदेशमा समेत प्रचार प्रसारका लागि संघीय सरकारले नै उचित कदम चाल्नुपर्छ,” उहाँले भन्नुभयो ।

यसैविच भानुभक्त आचार्यकै नामबाट नामाकरण भएको भानु नगरपालिकाले सोमबार भानु जयन्तीको अवसरमा नगरपालिका भित्रका सरकारी तथा सार्वजानिक संघ संस्थामा सार्वजानिक बिदा दिएको छ । नगरपालिकाको आयोजनामा स्थानीय क्लव, आमा समूह, बालबालिका र साहित्यप्रति समर्पित व्यक्तिहरुको उपस्थितिमा भाुनभक्तको मूर्तिलाई कविता, कथा लगायतका रचना वाचन कार्यक्रम सामाजिक दुरी कायम गरी भानु जयन्तीमा कार्यक्रम गरी मनाइने मेयर गौलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्