नेकपा काभ्रेमा अध्यक्ष र सचिव नआएको भन्दै भित्तामा टाँसियो ध्यानाकर्षण पत्र



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा काभ्रेमा गुटगत प्रतिस्पर्धा शुरु भएको छ । केन्द्रमा दुई अध्यक्ष बीचको विवाद सहमतिमा पुग्न नसक्दा कार्यकर्ताहरु विभाजन हुन थालेका हुन् । पाँच दिन अघि संगठनका नाममा अमुर्त ब्यक्तिहरुले हस्ताक्षर गरी जिल्ला अध्यक्ष र सचिवलाई ध्यानाकर्षण पत्र बुझाए पछि संगठनका आधिकारीक ब्यक्तिहरुले हस्ताक्षर गरी ध्यानाकर्षण बुझाउने प्रयास असफल भए पछि पार्टी कार्यालयको भित्तामा टाँसेर फर्किएका थिए ।

राष्ट्रिय युवा संघका संयोजक विक्रम चौलागाई, अनेरास्ववियुका संयोजक उपेन्द्र शर्मा, अखिल नेपाल महिला संघ संयोजक कमला काफ्ले, अखिल नेपाल किसान महासंघ विदुरप्रसाद हुमागाई र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विदुर खत्रीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवा नआएको भन्दै भित्तामा टाँसेर फर्किएका थिए । ‘हामीले अध्यक्ष र सचिवलाई पटक पटक समय माग गर्‍यौँ’– राष्ट्रिय युवासंघ नेपालका संयोजक विक्रम चौलागाईले भन्नुभयो–‘उहाँहरुको गुटका कार्यकर्ता नभएकाले समय दिनु भएन ।’ पाँच दिन अघि अध्यक्ष र सचिवकै निर्देशनमा गुटका कार्यकर्ताहरुलाई अबैद्य रुपमा संगठनका नाममा हस्ताक्षर गराएर ध्यानाकर्षण बुझेको आरोप युवा संघका संयोजक चौलागाईले लगाउनु भयो ।

अध्यक्ष रुकु चौलागाईले आफु अस्वस्थ भएकाले उहाँले भनेकै समयमा उपस्थित हुन असमर्थ रहेको बताउँदै केहि दिन पछि समय दिन्छु भन्दा समेत नमानेको बताउनु भयो । साथै उहाँहरु पार्टी कार्यालयमा भन्दा सडकमा उफ्रिएकाले त्यसो नगर्न अनुरोध गरेको अध्यक्ष रुकु चौलागाईले बताउनु भयो । ‘म सबैका कुरा सुन्छु, सबैलाई समय उपलब्ध गराउँछु भन्दा पनि उहाँहरुले मान्नुभएन’–अध्यक्ष चौलागाईले भन्नुभयो–‘म अस्वस्थ भएँ, सचिव टोकबहादुर वाईवा ब्यस्त हुनु भयो र समय दिन सकिएन ।’

अनेरास्ववियुका अध्यक्ष उपेन्द्र शर्माले अध्यक्ष र सचिव फरक गुटका भएकाले संगठनहरुले गरेका हरेक कार्यक्रममा अनुपस्थित हुने गरेको आरोप लगाउनु भयो । ‘गुट चलाउने भए पार्टीको नेता बन्न छाडेर जान अनुरोध गर्छ, माननियहरुले पनि ख्याल गर्नुस तपाई गुटको नेता कि आम कार्यकर्ताको ?’–नेता उपेन्द्र शर्माले भन्नुभयो–‘संगठनका नाममा अराजकता गर्ने छुट कसैलाई पनि छैन ।’ प्रदेश सभा सदस्य लक्ष्मण लम्साल पाँच दिन अघिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा सहभागि हुनु भएको थियो । अनेमसंघ संयोजक कमला काफ्ले, अनेकि महासंघ विदुरप्रसाद हुमागाई र जिफन्ट अध्यक्ष विदुर खत्रीले संगठनहरुको एकता नसकिँदै गुटगत राजनीति बन्द गर्न र संगठनको दुरुपयोग नगर्न नेताहरुलाई अनुरोध गर्नु भयो । नेतृत्व पार्टीको हुने कि गुटको ? संगठनका अध्यक्षहरुले चेतावनी दिदै ध्यानाकर्षण समेत बुझ्ने समय नहुने अवस्था सिर्जना गरी नभाग्न अनुरोध गरेका थिए । ध्यानाकर्षण बुझाउन पाँचवटा संगठनका नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्