काठमाडौँ विश्वविद्यालयको बजेट ३ अर्ब ७० करोड

‘विश्वविद्यालय नयाँ युगमा प्रवेश गर्‍यो’ : सहकुलपति



मोतीराम तिमल्सिना, काभ्रे । 

काठमाडौ विश्वविद्यालय सभाको ८७ औ बैठक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणी पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७७/२०७८ का लागि ३ अर्ब ७० करोडको बजेट पास गर्दै चालु वर्षको लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ ।

सभाले लगातार तीन वर्षसम्म एउटै कम्पनीलाई लेखापरिक्षण गर्न दिने निर्णय गरेको विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा. सुबोध शर्माले जानकारी दिनु भयो । बैठकले आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । २०७६/२०७७ को बार्षिक कार्यक्रम तथा अनुमानित आय ब्यय बजेट कोभिड २०१९ का कारण पुरा हुन नसकेकाले पुनरावलोकन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले कोभिडका कारण शुरु गरेको अनलाईन कक्षा प्रभावकारी भएकाले अन्य विश्वविद्यालयले पनि त्यसको अनुकरण गर्ने गरी ७ दिन भित्र त्यसको मोडल पेश गर्ने गरी सभाले निर्देशन दिएको छ ।

बैठकले विश्वविद्यालय सभामा रिक्त रहेका १० सदस्यहरुको हकमा प्रस्ताव गरिएका नामावलीहरुमा महिला पर्ने गरी पुनरावलोकन गरी ७ दिन भित्र कार्यकारी परिषद्मा पेश गर्न निर्देशन दिएको छ । कार्यकारी परिषद्ले सभाका सदस्यहरुको निर्णय गर्ने रजिस्ट्रार सुबोध शर्माले बताउनु भयो । त्यस्तै संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अधुरो रहेकाले आउँदो सभामा पेश गरी छलफल गर्ने गरी टुङ्गो लागेको छ । २०७६ भदौ ३० गते प्राध्यापकहरुसँग ४० दिनको आन्दोलन पछि गरिएको चार बुँदे सम्झौताका बारेमा आउँदो सभाले निर्णय गर्ने बताईएको छ । त्यस्तै डा. उषा झाको संयोजकत्वमा गठित समितिले आर्थिक अपचलन र नीतिगत विचलन, शिक्षक तथा कर्मचारी सेवा शर्त नियम २०५० मा पदपुर्ति सम्वन्धी प्रावधान पुनरावलोकन तथा परिमार्जन र आवधिक पदहरुको मापदण्ड र प्रकृया निर्धारण सम्वन्धी तीनवटा समिति गठन गरेकोमा समितिहरुले प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदन बारे आगामी सभामा पेश गर्ने निर्णय भएको छ । समितिमा सभाका सदस्य राजेन्द्र खेतान र ज्ञानेन्द्रलाल प्रधान सदस्य रहेका थिए ।

बैठकले काठमाडौ विश्वविद्यालय र व्रिडगिन बीच भएको सम्झौताका बारेमा जानकारी गराउँदै विश्विद्यालय नयाँ युगमा प्रवेश गरेको रजिस्ट्रार शर्माले बताउनु भयो । विश्वविद्यालयले हाईड्रोपाओरमा लगानी गर्ने, पठनपाठन र अनुसन्धानमा विद्यार्थीहरुलाई संलग्न गराउने, एग्रिकल्चर, बायोमेडिकल क्षेत्रमा लगानी गर्ने, धुलिखेल अस्पतालको सेवालाई विस्तार गरी आउटरिच सेन्टरको विस्तार गर्ने निर्णय गरेको छ । सभामा सहकुलपति गिरिराजमणी पोखरेलले विश्वविद्यालयले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई अन्य विश्वविद्यालयहरुले समेत अनुसरण गर्ने गरी कार्ययोजना बनाई कार्य गर्नु पर्ने बताउनु भयो । उहाँले विश्वविद्यालय नयाँ युगमा प्रवेश गरेकाले विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थीहरु तथा प्राप्त अनुसन्धानले मुलुकको समृद्धी गर्नेमा विश्वास ब्यक्त गर्नु भयो । सभाका सदस्यहरुले विश्वविद्यालयले प्रविधि र आवश्यकता अनुसारको शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनु भयो । उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले विश्वविद्यालयको अवस्थाका बारेमा सभामा जानकारी गराउनु भएको थियो ।

४ हजार सिट क्षमताको बहुउपयोगी हल

काठमाडौ विश्वविद्यालयले विश्वविद्यालयको दिक्षान्त सभा आयोजना गर्न मिल्ने गरी चार हजार सिट क्षमताको सभा हल निर्माण गरिरहेको छ । सात वर्ष अघि शुरु गरेको हल आगामी मसिंर भित्र सम्पन्न गर्ने गरी कार्य भईरहेको सुपरभाईजर लक्ष्मण खड्काले बताउनु भयो । २८ करोड लगानीमा विभिन्न क्षेत्रको सहयोगमा उक्त हल निर्माण भईरहेको छ । सम्भवत अन्तराष्ट्रिय मापदण्डको यो हल नेपालकै पहिलो भएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्