कोरोना संक्रमितको दोस्रो रिपोर्ट नआउदै घर पठाइयो, संक्रमण फैलिने खतरा



न्युज अफ नेपाल, पाल्पा ।

केही दिन पहिले सम्म प्रदेश पाँचमा सवैभन्दा धेरै कोरोनाका विरामी देखिएको पाल्पा जिल्लामा शनिवारसम्म तीन सय भन्दा वढी विरामी निको भएको भनेर धमाधम घर पठाइएको छ तर ति विरामी भनिएका व्यक्ति साँच्चिकेै निको भएका हुन वा होइनन भन्ने अन्यौल भने वाँकी नै छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत ३ सय ३ जना कोरोना संक्रमित भनिएका व्यक्ति डिस्चार्ज भएका छन । तर उनीहरूमध्ये कोही साच्चिकै कोरोना निको भएका थिए भने केहीमा अझै पनि कोरोना संक्रमण छ कि भनेर संका गर्ने प्रसस्त ठाउँ छ । किनकी पहिलो संक्रमणमा पोजेटिभ देखिएकाहरुको दोस्रो पिसीआर परीक्षणको रिपोंट नआउदै उनीहरु निको भएको भनेर घर पठाइएका छन ।

जिल्लाका विभिन्न गाउपालिका र नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आई केहीको आरडिटी र पिसिआर परीक्षण गरेका थिए । परीक्षणपछि कोरोना संक्रमण देखिएका व्यक्तिलाई आईसोलेशन सेन्टरमा राखियो । उनीहरुलाई दोस्रो पटक पनि परीक्षण गर्नु पर्ने हो तर १४ दिन पुगेपछि परीक्षण नै नगरी घर पठाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीलाई गत जेठ २० गते परिपत्र गरेर १४ दिन आइसोलेसनपछि सिधै घर पठाउन निर्देशन जारी गरेको थियो । सोही अनुसार बिरामी डिस्चार्ज गर्ने गरिएको छ । जसले गर्दा यदि कोरोना निको नभइसकेको भए े समुदायमा पनि सर्न सक्ने भन्दै स्थानीय वासिन्दा शसंकित हुन थालेका छन जसले समुदायमा जोखिम पनि बढाएको छ ।

केही उदाहरण हेरौ : 

* केही दिन अघि रम्भा गाउँपालिकाका १६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तीमध्ये आठ जनामा संक्रमण पुष्टि भयो । आइसोलेसनमा रहेका उनीहरूको दोस्रोपटक परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइयो । तर प्रयोगशालाले जाँच गरेन । जाँच गर्न नमानेपछि लुम्बिनी मेडिकल कलेजको आइसोलेशन बाट उनीहरुलाई एकैपटक घर पठाइएको थियो ।

* शनिबार रामपुर नगरपालिकाका १ सय ४ जनालाई १५ दिनको आइसोलेशन बसाइपछि घर पठाइयो । उनीहरूको स्वाब प्रयोगशाला पठाइएको भए पनि जाँच गरिएन ।

* शुक्रबार माथागढी गाउँपालिकाका १२ जना पूर्वखोला गाउँपालिकाका २२ जनालाई पनि १५ दिनको आइसोलेशन बसाईपछि घर पठाइएको छ ।

पाल्पामा हालसममा कोरोनाको लक्षण नदेखिएका तर आइसोलेशनमा वसेका २ सय ७६ जनाको दोस्रो परीक्षण रिपोर्ट नआउदै उनीहरु १४ दिन भन्दा वढी आइसोलेशनमा वसिसकेको र लामो समय आइसोलेशनमा वस्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइको छ भने वाँकी २७ जनाको पछिल्लो रिर्पोट नेगेटिभ पछि घर पठाइको हो ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले एकपटक पिसीआर पोजेटिभ आएको व्यक्तिलाई पिसीआर नेगेटिभ नआई घर पठाउने निर्णय गलत रहेको बताउनु भयो । यसरी घर पठाएको मानिसले अरुलाई संक्रमण सार्ने सम्भावना उच्च हुने उनको भनाइ छ ।‘संक्रमितको स्वाब टेस्ट परीक्षणका लागि पठाइएकोमा फिर्ता आएको छ । लक्षणविहीन भएकै आधारमा बिरामीलाई डिस्चार्ज दिँदा धेरै संक्रमित घरमा पुग्ने हुँदा समाजमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ’ अध्यक्ष थापाले भन्नु भयो ।

आइसोलेशनमा रहेकाहरुको स्थानीय तहले स्वाब संकलन गरी पठाए पनि प्रादेशिक प्रयोगशालाले भने फिर्ता पठाउने र त्यत्तिकै थन्काउने गरेको छ । प्रयोगशालामा बाहिरबाट आएका नयाँ व्यक्तिहरुको परीक्षण गरे पनि आइसोलेशनमा रहेकाहरुको पुनः परीक्षण भने गरिएको छैन । पीसीआर परीक्षणका लागि पठाइएका स्वाबका नमुना प्रयोगशालाले फिर्ता पठाउन थालेपछि जिल्लाका जनप्रतिनिधि निराश भएका छन् । पहिलो चरणमा संक्रमण देखिएका व्यक्तिको पुनः परीक्षण नगरिनु दुखद भएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताउनु हुन्छ ् । १४ दिन आइसोलेसन बसेकै आधारमा घर पठाउँदा कोरोना संक्रमण घरसम्म जाने उनको तर्क छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन अनुसार नै जिल्लाका अधिकांश संक्रमितलाई दोस्रोपटक पिसीआर परीक्षण नगरी घर पठाइने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताउनु हुन्छ ।

उहाका अनुसार जिल्लावासीहरु परीक्षण गर्ने अडानमा रहे पनि प्रयोगशालाले भने गाइडलाइन अनुसार भन्दै परीक्षण गरिदिएको छैन ।’
जिल्ला स्वास्थ कार्यालयका अनुसार शनिबारसम्ममा माथागढी गाउँपालिकाका १५ जना, पूर्वखोला गाउँपालिकाका ३४ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, निस्दी गाउँपालिकाका ९५ जना, रामपुर नगरपालिकाका १ सय १६ जना, रम्भा गाउँपालिकाका २५ जना, बगनासकाली गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका ४ जना, पाल्पामा उपचाररत गुल्मी, अघाँखाचीका ३ जना गरी ३ सय ३ जनालाई घर पठाइएको छ । जिल्लामा शनिवारसम्म ५ सय ४९ जनामा संक्रमण देखिएकोमा निको भएका भनिएका ३ सय ३ जना छन भने एक जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्