कमला नदी आसपासका गाउँमा हाई अलर्ट जारी, स्थानीय त्रसित 



सुभेन्द्र दास, लहान

सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीमा पानीको सतह बढेको छ । नदीको बहाव बढेपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले तत्कालै खतरा नभएपनि पनीको बहाब बढ्न थालेसँगै जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा स्थानीय तह मार्फत माइकिङ गरिरहेको बताए ।

सशस्त्र प्रहरी बलको टोलीले कमलाको तटबन्धसँग जोडिएका गाउँहरुको स्थलगत निरीक्षण गरेको छ’ सिरहा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने ‘शनिबार बिहानैदेखि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमै खटाइएको छ ।’

पानीको सतह बढेसँगै पछिल्लो वर्ष आएको बाढीले क्षति पुर्याएको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका सात तटीय गाउँहरुमा यस वर्ष पनि क्षति हुने अनुमान गरिएको छ ।

नदीमा बाढीको सतह बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । शुक्रबारदेखिको निरन्तर वर्षाले नदीको पूर्वी तटबन्धका कमजोर स्थानहरु भत्किन सुरु गरेको छ । यसले स्थानीय झनै त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्