वर्षेनी पहिरोकै पिरलो, वर्षाले झनै जोखिम



नेपाल समाचारपत्र, बैतडी

मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाका धेरैजसो स्थानका नागरिकलाई वर्षेनी पहिरोकै पीर हुने गरेको हो ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा उक्त क्षेत्रका नागरिकलाई वर्षात्को समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ ।

विसं २०१८ देखि शुरू भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २ सय रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । तत्कालीन राजा वीरेन्द्रले डोलबस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय बासिन्दा वीरसिंह भण्डारीले बताउनुभयो ।

ठूलो पहिरो भएकाले हरेक वर्ष उक्त पहिरो खस्ने गरेकाले पहिरोले वर्षेनी सताउने गरेको स्थानीय भोजराज जोशीले बताउनुभयो । ‘कमेरोयुक्त माटो भएकाले पहिरो नियन्त्रणमा आउन सकेको छैन’, उहाँले भन्नुभयो– ‘वर्षा शुरू भयो कि पहिरोकै डर हुने गर्दछ ।’

पहिरोकै कारण घर भत्कने अवस्थामा पुगेको स्थानीय लोगसिंह भाटले जानकारी दिनुभयो । डोल क्षेत्रमा २०१८ सालदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नभएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘आँगन नजिकैबाट पहिरो गएकाले निकै डर लाग्ने गर्दछ ।’

अहिले पनि २०÷२५ परिवार पहिरोको जोखिममा रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिका–८ लामुनी पहिरोको सास्ती पनि उस्तै रहेको छ । पहिरोले प्रत्येक वर्ष नोक्सानी गर्ने गरेको स्थानीय गणेश साउदले जानकारी दिनुभयो । पहिरोका कारण खेतीयोग्य जमिन प्रत्येक वर्ष बग्दै गएको छ ।

उहाँले भन्नुभयो– ‘पहिरो नियन्त्रणका लागि करीब २ करोड खर्च भइसकेको भए पनि पहिरोमुनि तटबन्ध निर्माण गरेको हुँदा तटबन्ध पनि पहिरोले बगाउने गरेको छ ।’ यस्तै मेलौली नगरपालिकाको विशालपुरमा पनि पहिरोको जोखिम रहेको स्थानीय महेश भट्टले जानकारी दिनुभयो । वर्षात् शुरू भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार बैतडीका ८ वटा स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । तर पनि धेरै स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाउन सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्