क्वारेन्टाइनका बिरामीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु



मिला दरै, तनहुँ

भारतबाट चार दिनअघि आएर क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । यही असार २३ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषको उपचारका अस्पताल लैजाँदै गर्दा शनिबार बिहान मृत्यु भएको हो ।

तनहुँको भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय पुरुषको मृत्यु भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । भट्टाराईका अनुसार नगरपालिकाले बनाएको शारदा कलेजको क्वारेन्टाइनमा बसेका पुरुषको उपचारका लागि पोखरा लैजाँदै गर्दा मृत्यु भएको हो ।

उहाँ दम, मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिसको बिरामीसमेत रहेको भट्टराईले बताउनुभयो । दीर्घरोगी भएकाले उहाँलाई रोगले च्यापेर बेहोस भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो ।

‘उहाँमा कोभिड–१९को संक्रमण भए/नभएको पुष्टि गर्नका लागि स्वाब लिइएको छ, उहाँको कोरोनाको परीक्षण पश्चात् मात्रै शवको व्यवस्थापनतर्फको काम गरिनेछ ।’ –अधिकारीले भन्नुभयो ।

यसअघि जिल्लामा घिरिङ गाउँपालिकाका एक पुरुषले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए । तनहुँमा शनिबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा १ सय ५६ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । सय जना भने कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्