गाली गलौज नगर्न कलाकार संघको आग्रह



नेपाली चलचित्र कलाकार संघले कलाकारबीचको विवादमा कसैलाई गाली गलौज नगर्न आग्रह गरेको छ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले विज्ञप्ति जारी गर्दै कसैको अभिव्यक्ति चित्त नबुझे शिष्ट भाषामा मर्यादित तरिकाले आलोचना र प्रतिवाद गर्न पाइने तर कसैलाई गाली गलौज र अशिष्टताको प्रदर्शन गर्नु निन्दनीय हुने जनाएका छन्।

पछिल्लो समयमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालका विषयमा गरेको टिप्पणीलाई लिएर उनीमाथि गालीको वर्षा भएको छ। तर संघले कसैको नाम उल्लेख नगरी तत्काल उब्जिएका यस्ता विवाद र समस्यालाई बिर्सिएर विवादको जड अन्त्य गर्न अपिल गरेको छ।

‘कलाकारहरूले पनि आपसी समझदारी र भाइचारा कायम राख्दै आचारसंहिताभित्र रही आफ्नो स्वतन्त्रताको उपभोग गर्न हुन पनि अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा कलाकारलाई दुव्र्यवहार भए, हिंसामा परे वा मर्कामा परे तत्कालै संघलाई जानकारी गराउन र सोही समयमा आवश्यक कानुनी उपचार लिनसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्