३३ किलो सुन काण्डका एक योजनाकार पक्राउ



काठमाडौं, (नेस)

३३ किलो सुन तस्करी गरेको आरोप लागेर फरार एक अभियुक्त पक्राउ परेका छन् । शनिबार दुबईबाट काठमाडौं आएका हरिशरण खड्कालाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

चूडामणि उप्रेती ‘गोरे’ को समूहले दुबईबाट २०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरारको सूचीमा थिए । काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका खड्का लामो समयदेखि दुबई रहँदै आएका थिए । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने क्रममा खड्का नेपाल आएका थिए ।

सुन तस्करीको आरोपपछि खड्कालाई इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो । उनी नेपाल आउन लागेको सूचना पाएको अध्यागमन कार्यालयले विमानबाट ओर्लिएर आगमन कक्षतर्फ आउँदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।

अध्यागमनका अनुसार राहदानी नम्बर १००६६५९४ वाहक खड्का चार्टर्ड फ्लाइटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

२०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको ईश्वरराज पौडेलको अध्यक्षतामा गठित छानविन समितिले पुष्टि गरेको थियो । सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो ।

अहिलेसम्म पनि उक्त सुन कहाँ पु¥याइयो भन्नेबारेमा प्रहरीले सुइँको समेत पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्