फेसबुकमार्फत अश्लील भिडियो रेकर्डिङ गर्ने चिकित्सक सोधपुछपछि छुटे



चितवन, (नेस)

सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील भिडियो रेकर्डिङ गर्ने चितवनका एक चिकित्सकलाई चितवन प्रहरीले सोधपुछपछि छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले आपत्तिजनक भिडियो रेकर्डिङ गर्ने डा. ऋतुराज तिवारीलाई सोधपुछपछि छाडेको बताउनुभयो ।

‘भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि हामीले उहाँलाई शनिबार जिल्ला प्रहरी कार्यालयमा बोलाएका थियौं’, डीएसपी थापाले भन्नुभयो– ‘अनुसन्धान सकिएपछि हामीले भरतपुर अस्पतालमा कार्यरत एक जना कर्मचारीको रोहवरमा उहाँलाई छाडेका छौं, अस्पतालका कर्मचारी रहेकाले अन्य कारबाही अस्पतालले नै गर्छ होला ।’

विवादास्पद छविका डा. तिवारी अस्पताल विकास समितिमार्फत गएको असार १ गतेदेखि दैनिक ज्यालादारीमा काम गर्न भरतपुर अस्पतालमा नियुक्त भएका थिए । यता, भिडियो सार्वजनिक भएपछि भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले डा. तिवारी दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले हटाउन सकिने बताउनुभयो ।

‘कोभिडको उपचारका लागि सहज होस् भनेर हामीले उहाँलाई ल्याएका थियौं, तर उहाँको सार्वजनिक भिडियो हेर्दा र सुन्दा खेदजनक छ’ –अध्यक्ष डा. अधिकारीले भन्नुभयो ।

हाल भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. तिवारीले नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा सरकारले रोक लगाइदिएपछि हिन्दी भाषामा अश्लील शब्द बोलेका थिए । उनले भिडियोमार्फत ‘भारतले सीमा बन्द गरिदिए खान्छौं नेपाली, तिमीहरुलाई चीनले दिन्छ कि जापानले दिन्छ’ भनेका छन् ।

सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । उनको भिडियो सार्वजनिक भएसंँगै चितवन प्रहरीले समेत यसमा चासो देखाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्