मृगौलापीडितको कोरोना संक्रमणका कारण मृत्यु



भगवती तिमल्सिना, काठमाडौं

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा बिहीबार राति मृत्यु भएका एक जना पुरुषमा कोरोनाको पुष्टि भएको छ ।

गोकर्ण निवासी ५४ वर्षका पुरुष एक साताअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचारका लागि पुग्नुभएको थियो । उहाँ मृगौलाको बिरामी भएको र विगतमा पनि सोही अस्पतालमा उपचार गराउँदै आउनुभएकाले शिक्षण अस्पताल जानुभएको थियो ।

शिक्षण अस्पतालमा बेड खाली नभएकाले केएमसी रिफर गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. मुकुन्दराज जोशीले जानकारी गराउनुभयो ।

डा. जोशीका अनुसार मृतक व्यक्तिलाई पहिला नै कोरोना संक्रमणको आशंकामा छुट्टै कोठामा सुरक्षा अपनाएर उपचार गरिँदै आएको र स्वाब संकलन गरी परीक्षणका लागि टेकु पठाइएको थियो । रिपोर्ट २६ गते आयो उहाँको मृत्यु २५ गते नै भएको थियो ।

अस्पतालले बिरामीदेखि नै सतर्कता अपनाई उपचार गर्नुका साथै शवलाई पनि कोरोना संक्रमितलाई गर्ने व्यवस्थापनमै राखेकाले आत्तिनुपर्ने अवस्था नभएको अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु घोषणा गरेको संख्या ३६ पुगेको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका–१० शंमखूलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसै गरी भारतबाट चार दिनअघि आएर क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको तनहुँ संवाददाता जनाएका छन् ।

यही असार २३ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषको उपचारको लागि लैजाँदै गर्दा शनिबार बिहान मृत्यु भएको हो । तनहुँको भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय पुरुषको मृत्यु भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्