शिक्षिकाले मनाईन् बृद्धाश्रममा जन्मदिन



यमलाल भुसाल,बुटवल ।

होटल तथा रेष्टुरेन्टहरुमा तामझामा साथ मनाईने जन्म दिन आजभोलि बृद्धाश्रम, अनाथश्रमहरुमा मनाउने चलन शुरु भएको छ । उक्त क्रियाकलापले युवा पुस्तामा सामाजिक भावना बढ्दै गएको पनि पुष्टि भएको छ ।

यसैबीच शनिबार रुपन्देहीको एक सामुदायिक विद्यालयको शिक्षिका रहेकी तिर्था अर्यालले सत्यसाई बृद्धा सेवा आश्रम भैरहवामा आश्रय लिएर बसेका बृद्धा बुबाआमाहरुसंगै आफ्नो जन्म दिन मनाएकी छन् ।

उहाँले आश्रममा रहेका १६ जना बुबा आमासंगै केक काटेर उनीहरुलाई खुवाउदैं र आर्शिबाद थाप्दै मनाएकी हुन् ।उमेरले ९० टेकेका धनबहादुर माझी काठमाण्डौंदेखि भैरहवा आएको दुई बर्ष भयो । शनिबार भने उनी जन्म दिनको शुभकामनाका शब्दहरु उपहार दिदैं अर्यालले दिएको केक मिठो मानि मानि खाइरहेका थिए ।

माझी जस्तै गुल्मी शान्तिपुरकी ८४ बर्षिय गंगामामा पुन अर्यालको टाउको माथि हात राखेर आर्शिबाद दिदैं सधै आश्रममा आइरहनु भन्दै थिइन् ।उमेरले ६६ बर्षदेखि ९० बर्ष सम्मका बुबा आमाहरुले जन्म दिन मनाउन केक बोकेर आश्रम पुगेका युवायुवतिलाई फेरि फेरि पनि आश्रममा आइरहनु है नानी बाबु भनिरहेका थिए । उनीहरुमा मुहारमा खुसीको बहार छाएको प्रष्टै देखिन्थ्यो ।

१० जना आमा र ६ जना बुबाहरुलाई एकाबिहानै खुसी बनाउने काम भने सामुदायिक विद्यालयको शिक्षिका समेत रहेकी भैरहवामा बसोबास गर्ने अर्यालले गरेकी हुन् ।आज म जन्मिएको दिन आफुले जन्म दिएका सन्तती भन्दा केहि टाढिएर बृद्धासेवा आश्रममा बसेका बुबाआमासंगै केक काट्न पाउदा अत्यन्तै खुसी भएकी छु । खासमा यो दिन मेरो लागि स्मरणीय हुनेछ । ’

अर्यालले विहानै आफुसंगै बस्ने आमासंग आर्शिबाद लिएपछि यहां आश्रममा बसोबास गरेका बुबाआमासंग आर्शिवाद लिन आएको समेत बताईन् ।बृद्धासेवा आश्रममा जन्म दिन मनाउने कार्यले आफुहरुलाई पनि प्रेरणा प्रदान गरेको अर्यालको साथि समेत रहेका सिद्धार्थनगर वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले बताउनु भयो ।

अर्यालले बृद्धा बुबाआमालाई केहि दिनलाई पुग्ने नास्ताहरु पनि दिएको आश्रमको सन्चालक समिती अध्यक्ष माया खरालले बताउनु भयो ।२०५९ सालमा स्थापना भएको उक्त आश्रममा काठमान्डौका ४ जना, भैरहवाका ५ जना , स्यांग्जा, पाल्पा, प्यूठान, अर्घाखाचि र मणिग्रामका एक एक जना बुबा आमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्