खेलाडीलाई पाँच महिनापछि पुरस्कार



न्युज अफ नेपाल,हेटौंडा ।

हेटौंडामा फागुन १४–१६ सम्म केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित नगरकप महिला भलिबल प्रतियोगितामा विजयी टोलीलाई सम्मान गरिएको छ ।पुरस्कारवापत् ५० हजार रकम आउन ढिला भएको र लकडाउनका कारण खेलाडीको सम्मान गर्न ढिलाइ भएको हो । प्रतियोगितामा १४ नम्बर वडालाई २५–१९, २५–१७ र २५–१५ को सेटमा हराउँदै १९ नम्बर वडा विजयी भएको थियो ।

हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगद र प्रशंसापत्रसहित सम्मान गरेको हो । १० खेलाडी तथा प्रशिक्षक र व्यबस्थापकलाई वडा अध्यक्ष नरनाथ सुबेदी, वडा सदस्य इन्दिरा तामाङ, वडा सचिव वसन्तकुमार सिटौला, मकवानपुर जिल्ला भलिबल संघ सदस्य राजु घलेलगायतले सम्मान गरेका हुन् ।

‘उपमहानगरमा गाभिएको वडा भए पनि हामी हर क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गरेका छौं,’ वडा अध्यक्ष सुबेदीले भने–यस वर्ष विजेता हुन सफल भयौं । यसबाट हामी निकै खुशी छौं । वडा कार्यालयले विकास निर्माणसँगै खेलकुद विकासलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । खेलाडीको हौसला बढाउन नगदसहित प्रशंसापत्र प्रदान गरिएको वडा सचिव सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्