३३ किलो सुन काण्डका योजनाकार पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

३३ किलो सुन तस्करी गरेको आरोप लागेर फरार एक अभियुक्त पक्राउ परेका छन् । शनिबार दुबईबाट काठमाडौं आएका हरिशरण खड्कालाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ । चुडामणी उप्रेती ‘गोरे’को समूहले दुवईबाट २०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरारको सुचीमा थिए ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका खड्का लामो समयदेखि दुवई रहदै आएका थिए । सरकारले बिदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने क्रममा खड्का नेपाल आएका थिए । सुन तस्करीको आरोप पछि खड्कालाई इन्टरपोलले रेडक कर्नर नोटिस जारी गरेको थियो । उनी नेपाल आउन लागेको सूचना पाएको अध्यागमन कार्यालयले बिमानबाट ओर्लिर आगमन कक्ष तर्फ आउदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।

अध्यागमनका अनुसार पासपोर्ट नम्बर १००६६५९४ बाहक खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । २०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको इश्वरराज पौडेलको अध्यक्षतामा गठित छानवीन समितिले पुष्टि गरेको थियो । सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो । अहिले सम्म पनि उक्त सुन कहां पुर्याइयो भन्ने बारेमा प्रहरीले सुइको समेत पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्