मनोकामना पूरा गर्ने सालमुनिमा दलित पुजारी



विमल विष्ट

देशका विभिन्न ठाउँहरूका समाजमा अहिले पनि जातीय भेदभाव कायमै छ। त्यसमा सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाले अझ देशमै नराम्रो छवि बनाएको छ। तर सुदूरपश्चिम प्रदेशको डोटीमा एउटा यस्तो मन्दिर छ जहाँ दलित समुदायका पुजारीले मात्रै पूजा गर्ने र गैरदलित समुदायका व्यक्तिले भाकल गरेका पशुबलि पनि दलित समुदायकै पुजारीले अवसेकाउने अर्थात् औसेक छर्की शुद्ध पार्ने र बलि दिने परम्परा अझै कायमै रहेको छ।

जिल्लाको शिखर नगरपालिका–२ कालागाढमा रहेको सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ सालमुनि मन्दिरमा पुजारी नै दलित समुदायका छन्। यहाँ दैनिकजसो सयौं भक्तजनहरू पूजापाठ तथा पशुबलि दिनका लागि आउने गर्दछन्। त्यहाँ आएका भक्तजनहरू दलित समुदायका पुजारीका हातबाट टीका, प्रसाद र आशीर्वाद थाप्नुका साथै पशुबलिसमेत दिएर फर्किन्छन्।

आफूले भाकल गरेको सफल भएका तथा मनोकामना पूरा भएका भक्तजन वर्षेनी सालमुनि देवतालाई बलि चढाएर खुसी पार्न तँछाडमछाड गर्ने गदर्छन्। उक्त मन्दिरमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र छिमेकी मुलुक भारतका पञ्जाब, बरेली, पलिया, लखनउसम्मका स्थानीयहरू पूजाआजा गर्न तथा पशुबलि दिन आउने गरेको स्थानीय राम कार्कीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मनले चाहेको वर प्राप्त हुने भएकाले सालमुनि देवतालाई सबैले सम्झिन्छन्, आफ्नो काम पूरा भएका भारतीय नागरिक पनि बलि दिन आउँछन्।’ डडेल्धुराको स्याउले बजारदेखि दिपायल जोड्ने डा. केआईसिंह राजमार्गसँगै जोडिएको उक्त सालमुनि मन्दिरमा स्थानीय दास (बादी) परिवारका पुरुषहरूले यहाँ वर्षौंदेखि पुजारीको काम गर्दै आएका छन्।

अलाड भन्ने क्षेत्रबाट सेती नदीमा सालमुनि देवता बग्दै आइरहेका बेला छोपेर मुडेगाउँको कालागाढमा प्रतिस्थापन गरेकाले मन्दिरमा आफूहरूको हकभोग रहेको मन्दिरका पुजारी भीमबहादुर दासले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सेती नदीमा बगिरहेका सालमुनि देवतालाई हाम्रा पुर्खाले बचाएर यहाँ राखेका कारण हामीलाई सालमुनिले नै पुजारी बनाएका हुन्।’

पुर्खौंदेखि दास परिवारले मात्रै मन्दिरमा विधिवत् पूजाआजा तथा धूप–आराधना गर्दै महिमा जोगाउँदै आएको उहाँले जानकारी दिनुभयो।प्रत्येक बिहान आएर मन्दिरको सरसफाइ, धूप, पूजा तथा भक्तजनलाई टीका, प्रसाद दिन दास जातिका पूजारी जहिले पनि खटिने गरेका छन्। उक्त मन्दिरमा पूजारीका रूपमा कम्तीमा पनि ५ जनाभन्दा बढी खटिएका हुन्छन्। उक्त मन्दिरमा अन्य मन्दिरजस्तो मुख्य पूजारी हुँदैनन्।

जसको हातमा जे काम आउँछ, समझदारीमा सबैले आ–आफ्नो काम गर्ने गरिएको अर्का पुजारी तेजबहादुर बादीले बताउनुभयो।उहाँले भन्नुभयो– ‘कसले के काम गर्ने भन्ने तोकिएको केही हुँदैन, आपसी समझदारीअनुसार जसले जे काम सक्छ त्यही गर्दै आएका छौं।’ मन्दिरमा दिनभरि चढाइएका भेटी, नगद र बलि दिइएका बोकाका टाउका पूजारीहरू बेलुकी बाँडेर घर लैजाने गर्दछन्।

दलितमाथि अन्यत्र जिल्लाका मन्दिरमा गरिने दुव्र्यवहार सालमुनि मन्दिरमा गरिँदैन। ‘दलित, गैरदलित भन्ने रूढीवादी सोच मात्र रहेछ’, दाङबाट सालमुनि मन्दिरमा पशुबलि दिन आउनुभएका सुरेशचन्द्र डिसीले भन्नुभयो– ‘मन्दिरमा गैरदलित मात्रै पुजारी हुनुपर्छ भन्ने गलत रहेछ, आखिर दलित पुजारी हुँदा पनि पूजा त सफल हुँदोरहेछ त? हाम्रो सोच नै गलत रहेछ।’

जिल्लाका अन्य ठूला मानिएका मन्दिर तथा धेरैजसो मन्दिरमा ब्राह्मण समुदायका मानिस पुजारी हुने भए पनि यो मन्दिरमा भने दलित समुदायका व्यक्ति परापूर्वकालदेखि पुजारी रहँदै आएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सालमुनि मन्दिरमा वर्षांैदेखि दलित समुदायका व्यक्ति पुजारी छन्, सबै भक्तजनको मनोकामना पूरा हुँदै आएको छ, दलित पनि पुजारी हुन्छन् भन्ने उदाहरण यो मन्दिरले दिएको छ।’

दलित समुदायका व्यक्ति पुजारी रहे पनि उक्त मन्दिरमा महिलालाई भने पूजाआजाका लागि मन्दिरभित्र प्रवेश निषेध गरिएको छ। मन्दिरभित्र किन महिला भक्तजनलाई प्रवेश निषेध गरिएको हो सो विषयमा न पुजारीलाई कुनै जानकारी छ न त अन्य कुनै स्थानीयलाई जानकारी छ। मन्दिरभित्र महिला भक्तजनलाई प्रवेश निषेध गरिए पनि मन्दिरको कम्पाउन्डभन्दा बाहिर प्रसाद ग्रहण तथा टीका लगाउन भने महिला भक्तजनका लागि खुला गरिएको शिखर नगरपालिका–२ मुडेगाउँका स्थानीय चेतबहादुर बोगटीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘मन्दिरबाहिर मात्रै महिला भक्तजनका लागि खुला गरिएको छ, मन्दिरभित्र भने महिलाले जान पाउँदैनन्।’उक्त मन्दिरमा पशुबलि दिन भक्तजन आएको खण्डमा बादी समुदायको कुनै पनि व्यक्ति पूजारी हुने भएकाले एकजना बादी समुदायको व्यक्ति बोलाएर पूजाआजा सम्पन्न गर्ने चलन पनि रहेको छ।

उक्त मन्दिरको संरक्षण तथा संवद्र्धनका लागि दीपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले वर्षेनी सहयोग गर्दै आएका छन्।

आफूलाई समस्या परेको खण्डमा समस्या समाधानका लागि देशको जुनसुकै ठाउँबाट पनि सालमुनि देवताको नाम लिई आफ्नो काम सिद्ध होस् भन्ने कामना गरे मनोकामना पूरा हुन्छ भन्ने मान्यताका कारण भक्तजनहरू समस्या परेको समयमा सालमुनि देवतालाई सम्झिने गरेको दीपायल सिलगढी नगरपालिका–४ की स्थानीय तुलसी शाहीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कसैलाई ठूलै समस्या परेको खण्डमा जहाँबाट पनि शुद्ध मनले सालमुनिको नाम लिए काम पूरा हुन्छ।’उक्त मन्दिरमा साउन महिना तथा माघ महिनामा मात्रै पशुबलि दिइँदैन भने अन्य दश महिना भक्तजनहरू पशुबलि दिनका लागि आउने गर्दछन्।

विशेष गरी उक्त सालमुनि मन्दिरमा आइतबार, मंगलबार, बिहीबार र शनिबार पशुबलि दिने भक्तजनाको बढी भिड लाग्ने गरेको शखिर नगरपालिका–२ कालागाडका अर्का स्थानीय हरि धामीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पशुबलि प्रायः सबै दिन दिइने भए पनि मुख्यतया आइतबार, मंगलबार, बिहीबार र शनिबार बढी भिड लाग्ने गर्दछ।’ उक्त सालमुनि देवताले मनले सोचेको तथा विभिन्न कारणले सम्पन्न नभएका अधुरा कामहरू पूर्ण गराउने भएकाले पनि भक्तजनहरू उक्त देवताप्रति बढी आकर्षित भएका हुन्।

शुकदेवको विद्या आर्जन

शुकदेवजस्ता ब्रह्मज्ञानी पनि जनक राजाका दरबारमा विद्यार्जनका लागि गएका थिए। विद्याभ्यास समाप्त भएपछि उनले गुरुदक्षिणा दिन खोजे। महाराज जनकले भने– ‘मलाई कुनै गुरुदक्षिणाको चाह छैन तैपनि तिमी आग्रह गर्छौ भने जगत्मा जुनवस्तु बिलकुल अनुपयोगी र काम नलाग्नेछ त्यही मलाई दिनु।’ गुरुदक्षिणा एक हिसाबले शिष्यको परीक्षाजस्तो पनि हुन्थ्यो।

अब शुकदेव स्वामी अनुपयोगी वस्तुको खोजीमा लागे। माटो उठाएर हेरे तर त्यसका सयौं उपयोग सम्झना भए। ढुंगा समाए। त्यसका पनि कैयौं गुणहरू देखिए। अन्तिममा मानव मलमूत्रको याद भयो।

तर ती पनि बोटबिरुवाको पोषणमा काम लाग्ने देखिए। अर्थात् यस जगत्मा जति पनि वस्तु छन् ती सबै कुनै न कुनै प्रकारले उपयोगी नै ठहरे। बिलकुल काम नलाग्ने, बेकारको र फाल्तु कुरा त संसारमा केही छँदैछैन रहेछ।

धेरै सोचविचारपछि उनी निष्कर्षमा पुगे कि अभिमान वा घमण्ड भन्ने यस्तो वस्तु छ जसको आफूलाई र अरूका लागि समेत कुनै काम छैन। यो अनुपयोगी त छँदै छ हानिकारक पनि छ। अन्तमा उनी जनकको अगाडि गएर भने– ‘म आजका मितिदेखि आफ्नो अभिमान गुरु दक्षिणामा अर्पण गर्छु।’

यस्तो सुनेर जनकले भने– ‘तिम्रो ज्ञान फलित भयो। म पनि कृतार्थ भएँ। जाऊ।’तर के हामी यसो गर्न सक्छौं? अहँ, सम्भव छैन। किनकि हामी धन, पद, शिक्षा, रूप, यौवन, बल, सम्बन्ध र यस्तैयस्तै अभिमानका बसिभूत छौं
र ती हाम्रा लागि निकै प्रिय छन्।

प्रतिक्रिया दिनुहोस्