च्याम्पियन्स लिगको क्वार्टरफाइनल र सेमिफाइनल ड्र सार्वजनिक



ज्यूरिच, एजेन्सी ।

यूइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत आज क्वार्टरफाइनल र सेमिफाइनल चरणको लागि ड्र सार्वजनिक गरिएको छ ।

नेपाली समयअनुसार शुक्रबार अपरान्ह जारी गरिएको ड्र अनुसार अन्तिम १६ को दोस्रो लेगमा रियल मेड्रिड र म्यानचेस्टर सिटीबीच हुने खेलको विजेताले क्वाटरफाइनलमा युभेन्ट्स वा लियोनबीचको विजेतासँग खेल्ने भएका छन् । त्यस्तै, अन्तिम १६ को अर्को खेलमा बार्सिलोना र नापोलीबीच हुने खेलको विजेताले चेल्सी र बार्यन म्युनिखबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

त्यसैगरी क्वाटरफाइनल आरबी लेइप्जिगले एट्लेटिको मेड्रिडको सामना गर्ने तय भएको छ । त्यस्तै, अर्को क्वाटरफाइनल एट्लान्टा र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच हुनेछ । अहिलेसम्म पीएजी, एट्लान्टा, एट्लेटिको मेड्रिड र लेइप्जिगले क्वाटरफाइनलमा स्थान बनाएका छन् । अरु खेलको अन्तिम १६ को दोस्रो लेग हुन बाँकी रहेको छ । जसमा पहिलो लेगमा चेल्सी बार्यनसँग ३/० ले पछाडी रहेको छ भने म्यानचेस्टर सिटीले रियललाई २/१ ले हराएको छ ।

त्यस्तै लियोनसँग युभेन्ट्स १/० ले हारेको छ । बार्सिलोना र नापोलीले भने पहिलो लेगमा १/१ गोलको बराबरी खेलेका छन् । त्यसैगरी सेमिफाइनलमा पहिलो क्वाटरफाइनलको विजेताले तेस्रो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ भने दोस्रो खेलको विजेताले चौथो क्वाटरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्