काभ्रेका तीन स्थानमा कोरोना संक्रमण, समुदायमा प्रवेश गरेको आशंका



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेका विभिन्न स्थानमा समुदायमा रहेका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका १३ भैसेपाटी, पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी र वडा नम्वर ९ सुन्थानमा रहेका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटी घर भएका युवा काठमाडौ गएका थिए । उनलाई काठमाडौमा क्वारेन्टिनमा राख्न भनियो । उनले अस्विकार गरे । तर पिसिआर परिक्षणसँगै उनलाई सहज बनाउने बताए पछि कोरोना परिक्षण गरिएको थियो । तीन दिन अघि उनीमा कोरोना संक्रमण देखिएको जानकारी आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । उनी बैदेशिक रोजगारबाट फर्किएका युवक हैनन । उनले कसैलाई भेट नगरेको बताएका छन् ।

पनौती नगरपालिका वडा नम्वर २ कुशादेवी घर भएकी एक महिलालाई साता अघि सर्पले टोक्यो । उनलाई छोराले मोटरसाईकलमा राखेर बनेपाको शिर मेमोरियल अस्पताल ल्याए । सर्पको औषधी पाटनमा हुने भएकाले अस्पतालले रिफर गर्‍यो । महिलालाई सर्पले टोकेको उपचारसँगै कोरोना संक्रमण परिक्षण गरिएको थियो । उपचार पछि उनि घर फर्किईन । तर रिपोर्ट समयमै आएन । घरमा आए पछि उनलाई सर्पले टोकेको भनेर भेट्न आउनेहरुको संख्या धेरै भयो । शुक्रबार मात्रै उनलाई कोरोना पोजेटिभ भएको जानकारी भयो । समुदायमा बसिरहेका ब्यक्तिहरुमा कोरोना संक्रमण देखिनु समुदाय भित्र नै संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

पनौती नगरपालिका ९ सुन्थान घर भएका युवा १५ दिन अघि कोरियाबाट फर्किए । उनले कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ भएको कागजपत्र बोकेका थिए । घरमा १४ दिन बसे । १५ दिन पछि उनी इपिएस फाराम भर्न काठमाडौ गए । फाराम भर्ने स्थानमा उनलाई पिसिआर मागियो । पहिलाको रिपोर्ट अमान्य भएकाले पाटन अस्पतालमा पुनः परिक्षण गरे । उनमा कोरोना संक्रमण देखियो । उनी समुदायमा घुलमिल भईसकेका थिए । यस अघि पनौती नगरपालिकामा एक महिलालाई कोरोना देखिएको थियो । उनलाई कहाँबाट संक्रमण भयो अहिलेसम्म पत्ता लागेको छैन । उनको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षण गर्दा समेत कोरोना को बाट संक्रमण भएको हो पत्ता लागेन । उनी निको भएर घर फर्किएकी छिन् ।

काभ्रेमा हालसम्म १५ जना ब्यक्तिमा संक्रमण देखिएको थियो । यो संख्या थपिए १८ पुगेको छ । निको भएर घर फर्कनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्