एउटै भिडियोमा ४८ कलाकार



विश्वलाई नै प्रभावमा पारेको कोरोना संक्रमणको महामारीले नेपाललाई पनि प्रभावित बनाएको छ। भूकम्पले थलिएर बिस्तारै चल्मलाउँदै गरेको यो अवस्थामा कोरोना प्रकोपले पूरै देश धराशयी भएको छ र यसका लागि सबै नेपाली एक हुनु जरुरी छ।

सम्पूर्ण विश्वलाई हामी नेपाली एक छौं भन्ने देखाउने यो सुनौलो दिन पनि रहेको जनाउँदै गायक शिव लामिछाने ‘शिवाज’ले आफ्नो नयाँ गीत हामी छौं साथ छ हातमा हात बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

कृपा अनप्लगडजस्तो चर्चित म्युजिकल शोसमेत परिकल्पना तथा निर्माण गरेका गायक शिव लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका छन्।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेतीले भिडियो सम्पादन गरेका छन्। भिडियोमा कलाकारका रूपमा नेपालसँगै चीन, जर्मनी, हङकङलगायतका देशबाट ४८ जना नेपालीको संग्लनता रहेको छ।

कोरोना महामारीको प्रकोपसँगै देशको अर्थ राजनीति आफ्नै तालमा रनभुल्ल परेको स्थितिमा सबै नेपालीको मुहारमा केही उज्यालो आवेश भन्ने मेरो मात्र नभएर सबैको आकांक्षा रहेको गायक शिव लामिछाने बताउँछन्।

विगतदेखि नै जेजस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौं र गर्ने नै छौं। हाम्रो सबभन्दा ठूलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो। यो गीतले पनि त्यही भनेको छ गायक लामिछाने भन्छन्।

प्रतिक्रिया दिनुहोस्