सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका डा। युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् ।

त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

त्यसैगरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्