बेहुलासहित ५ जना पक्राउ



मिला दरै,तनहुँ ।

विवाह भइरहेको अवस्थामा बेहुला सहित ५ जनालाई बुधबार पक्राउ गरिएको छ । व्यास नगरपालिका–११ स्थित बालविवाह गर्ने/गराउने ५ जना पक्राउ गरिएको हो । सो ठाउँकी १४ वर्षीया बालिकासँग गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई मण्डपबताटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव परीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार उनीहरुको विधिवत रुपमा बालविवाह हुँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उहाँले भन्नुभयो, ‘बालिका बेहुलीको पोशाकमा सजिएर घुम्टो ओडी, सिउँदोमा सिन्दुर समेत हाली सकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ गरिएको हो, बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितलाई समेत ५ जनालाई नियन्त्रणमा लिइएको छ ।’

उनीहरुलाई कानुन बमोजिम बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पुरा गरेको हुनुपर्ने नियम रहेको छ । २० वर्ष मूनि विवाह भएमा बदर हुने संहितामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्