कति सहने भारतीय मिडियाको छाडापन ?



न्युज अफ नेपाल, काठमाडौँ ।

राज्यको चौथो तथा अति शक्तिशाली अंग हो पत्रकारिता । पत्रकारिता शब्दले नै मानिसमा विश्वास र साहस जगाएको हुन्छ । तर, भारतीय मिडिया भने पत्रकारिताका नाममा असनका साँढेजस्तै भएका छन् । उनीहरुको यस किसिमको पत्रकारिताले मानिसमा भ्रम पैदा गरेको छ ।

मानिसले पत्रकारिताप्रतिको विश्वास गुमाएका छन् । कुनै पनि छिमेकी देशसँग सुमधुरसम्बन्ध राख्न नसकेको भारतले जतिसक्यो त्यति नै अरुको बेइज्जत गर्नेतिर लागि परेको छ । पत्रकारिताको नाममा छाडा संस्कार पलाइरहेको बेलासमेत भारतीय सरकार चाख मानेर बसिरहेको छ । यसले भारतीय मिडियाले ‘जे पनि गर्छन्, सिवाय पत्रकारिता’ भनी लगाउने गरिएको आरोप सत्य साबित गरिदिएको छ ।

वर्षौदेखि नेपाली भूभाग मिचेर बसेको भारतीय विस्तारवादी हर्कतविरुद्ध नेपालले आवाज उठाएसँगै भारतीय मिडियाले नेपालको सरकारमा सत्तासीन व्यक्तिको चर्को आलोचना गरिरहेका छन् । यति मात्र नभएर भारतका जिम्मेवार व्यक्तिले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई सामाजिक सञ्जाल एवम् मिडियामा तुच्छ र अपाच्य शब्दको प्रयोग गरिरहेका छन् । पछिल्लो समय केही प्रसिद्ध भारतीय मिडियाले समेत प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हु यान्छीलाई एकअर्कासँग जोडेर अपशब्द र मानहानी हुने भिडियो बनाई सारा विश्वसमक्ष देखाएका छन् । यसले भारतीय मिडिया, पत्रकार, सरकारलगायत भारतीय संस्कारमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।

भारतीय मिडियाको यस प्रकारको व्यवहारले मानिसको मन मस्तिस्कमा घृणाको भाव पैदा गराएको छ । भारतीय मिडियाको यो व्यवहारले स्वयम् भारतीय नागरिकलाई समेत लज्जाबोधको अवस्थामा पुर्याएको छ । यस्तो व्यवहार नेपालीलाई मात्र नभएर अन्य छिमेकी देशलाईसमेत् आजित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्