वाटफोर्डलाई महत्वपूर्ण तीन अंक



लन्डन, (एजेन्सी)

डेनी वेलबेकले दर्शनीय ओभरहेड किकबाट गरेको विजयी गोलसँगै वाटफोर्डले प्रिमियर लिगअन्तर्गत खेलमा नर्भिचलाई २–१ ले हराएको छ ।

मंगलबार राति भएको खेलमा वाटफोर्डले १ गोलले पछि परेको अवस्थालाई उल्ट्याएर महत्वपूर्ण जितसमेत हात पार्‍यो । रेलिगेसनबाट सुरक्षित हुन दुवै टिमलाई स्पष्ट ३ अंककै आवश्यकता थियो । वाटफोर्डले रेलिगेसन जोनबाट ४ अंकले आफूलाई सुरक्षित पार्‍यो भने नर्भिच भने २१ अंकसहित पुछारमै छ । यदि रेलिगेसनबाट उम्कने हो भने नर्भिचले आगामी चारै खेल जित्नुपर्ने दबाब छ । एक खेल हारेमा पनि नर्भिच रेलिगेसनमा पर्ने तय छ ।

इमिलियानो ब्युनडीयाले खेलको चौथो मिनेटमै गोल गरेर नर्भिचलाई १–० को अग्रतामा राखेका थिए । तर क्रेग डाउसनले छिटै बराबरी गोल फर्काएका थिए । उनले क्लोज रेन्जमा १०औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफ १–१ बराबरीमा समाप्त भएको थियो । दोस्रो हाफमा वेलबेकले दर्शनीय गोल गरेपछि वाटफोर्ड २–१ को अग्रतामा पुगेको थियो । तर अन्तिममा नर्भिचका एडाम इडाहले ५ यार्डबाट गरेको प्रहार बाहिरिँदा नर्भिचले बराबरी गोल फर्काउन असफल भएको थियो ।

नर्भिच गत सिजनमा च्याम्पियनसिपबाट प्रिमियर लिगमा प्रमोशन भएको थियो । प्रिमियर लिगमा शुरुआतमा टोलीले राम्रो नतिजा पनि निकालेको थियो । टोलीले म्यानचेस्टर सिटी, लेस्टर सिटी र एभर्टनलाई हराएको थियोे । यस्तै टोलीले आर्सेनल र टोटनहामसँग बराबर नतिजा आत्मसात गरेको थियो । तर पछिका खेलहरूमा प्रदर्शन नराम्रो हुँदै गएपछि नर्भिचको प्रिमियर लिग एक सिजनमै सीमित हुने सम्भावना बढेको छ ।

उता निगेल पियरसनको टोली वाटफोर्डका लागि प्रिमियर लिगको भाग्य उनीहरूकै हातमा रहेको छ । यो जितले टोलीको ३१ अंक भएको छ र रेलिगेसनमा रहेका एस्टन भिल्ला र बर्नमाउथभन्दा ४ अंकले माथि छ । गोल भिन्नता पनि दुवै टोलीको भन्दा वाटफोर्डको राम्रो छ । शनिबार टोलीले अंकतालिकाको मध्यमा रहेको न्युक्यासलसँग खेल्नेछ । त्यस्तै १७ जुलाईमा वेस्ट ह्यामविरुद्ध खेल्नेछ भने बाँकी दुई खेलमा म्यानचेस्टर सिटी र आर्सेनलसँग खेल्नेछ ।

वाटफोर्डलाई प्रिमियर लिगमै रहन यी चारै खेलमा संघर्ष गर्नुपर्ने मेनेजर पियरसनले जनाएका छन् । पियरसन वाटफोर्डमा दुई जना मेनेजर जाभी ग्रासिया र क्विके सान्चेज फ्लोर्स बर्खास्त भएपछि आएका हुन् । जब उनी टोलीलाई सम्हाल्न आए त्यतिबेला १४ खेलबाट ८ अंक मात्रै रहेको थियो । तर उनको नेतृत्वमा टोलीले २० खेलबाट २३ अंक जोडेको छ ।

चेल्सी तेस्रो स्थानमा

प्रिमियर लिगअन्तर्गत मंगलबार रातिको खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण ३–२ को जित हात पारेको छ । क्रिस्टल प्यालेसले विलफ्राइड जाहाको लामो दूरीबाट गरेको शानदार गोलले पनि चेल्सीलाई जितबाट रोक्न सकेन । चेल्सीका लागि ओलिभिएर गिरोउडले खेलको छैटौं मिनेटमै गोल गरेका थिए । क्रिस्टियन पुलिसिचले २७औं मिनेटमा गोल गर्दा चेल्सी २–० को अग्रतामा पुग्यो । तर जाहाले ३४औं मिनेटमा गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याएका थिए । पहिलो हाफ २–१ मा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीबाट एक–एक गोल भएका थियो । टामी अब्राहमले ७१औं मिनेटमा एक गोल थपेर चेल्सीलाई ३–१ को अग्रतामा राखेका थिए । एक मिनेटपछि नै क्रिस्टियन बेनटेकेले गोल थप्दा क्रिस्टल प्यालेसले खेलमा फर्कने संकेत गरेको थियो । तर यसपछि कुनै गोल नभएपछि चेल्सीले जित हात पार्न सफल भयो । यो जितसँगै चेल्सी ६० अंकसहित तेस्रो स्थानमा रहेको छ । टोली लेस्टर सिटीको भन्दा एक अंकले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्