राहतको आशमा रहेका फिल्कर्मीसँग मन्त्रालयले माग्यो कर तिरेको हिसाब किताब



विदुर गिरी ।

फिल्म निर्माता तथा फिल्मकर्मीहरू सरकारले कोरोनो संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनका कारण फिल्म क्षेत्रमा भएको क्षतिको पूर्ति गर्न राहतको आशमा छन्। सरकारले भने महामारीका कारण संकटमा परेको फिल्म क्षेत्रले सामान्य अवस्थामा तिरेको करको हिसाब किताब मागेको छ।

कोरोना र यसका कारण जारी लकडाउनका कारण फिल्म क्षेत्र अहिले गतिविधि शून्य अवस्थामा पुगेको छ। फिल्मको छायांकनदेखि प्रदर्शनसम्मका सबै प्रक्रिया रोकिएको छ। भिडभाड हुने र त्यसबाट कोरोना संक्रमण फैलन सक्ने भएकाले देशभरका हल बन्द छन्। फिल्मको व्यापार ठप्प छ। फिल्मका कामहरू अगाडि बढ्न नसकेपछि कलाकारहरू फुर्सिदिला भएका छन्। प्राविधिकहरूलाई हातमुख जोड्न कठिन भएको छ, जसका कारण फिल्मसँग सम्बन्धित संघसंस्थाहरूले आआफ्नो विधाका फिल्मकर्मीहरूलाई राहत दिन माग गर्दै सरोकारवाला निकाय चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन्।

संघसंस्थाका ज्ञापन र मागपत्रको चाङ बोर्डमा थुप्रिएपछि केही अघि मात्र बोर्डको नेतृत्व पाएका बोर्ड अध्यक्ष दयाराम दाहाललाई आप्mनो नियुक्ति भूतले खाने समयमा परेको महसुस भएको छ। संघसंस्था र फिल्मकर्मीको मागको सम्बोधन गर्न सरोकारवाला मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका बोर्ड पदाधिकारीलाई मन्त्रालयले फिल्मकर्मीले तिरेको करको हिसाब किताब ल्याउन निर्देशन दिएको छ। सूत्रका अनुसार अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यसअघि फिल्मकर्मीले सरकारलाई तिरेको करको हिसाब ल्याउन निर्देशन दिएका हुन्।

उता नेपाल चलचित्र निर्माता संघले कोरोनाका कारण प्रभावित ६४ फिल्मको सूची बोर्डमा बुझाउँदै राहतको माग गरेको छ। संघले कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण रिलिज स्थगित गरिएका, सुटिङ रोकिएका र सुटिङमा जान नसकेका ५ दर्जन बढी फिल्मको सूचिसहित राहतको माग गरेको हो।

 

संघले निर फुल, म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, लक्का जवान, हिजो आजका कुरा, चपली हाइट ३, सम्हालिन्छ कहिले मन, २ नम्बरी, घनचक्कर, उफ यो मन, के घर के डेरा, मनको बाँध, हिरो रिटर्न्स, माया बस्छ कि के हो, झिंगे दाउ, उल्झन, पोखराकी काली, द होल टाइमर, पारस, सिमानामा काँडेतार, मन्त्र, हली, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकाशे खेती, एक, डेसान, तीन जन्तु, षट्कोण, नालापानी, हेल्लो काशीराम, आरुषी, यो माया कस्तो माया, पानी फोटो, माइकल अधिकारी, शिरफूल, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, सम्झना बिर्सना, सुस्केरा, तु, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, चिसो एस्ट्रे, रेखा थापाको अनटाइटल प्रोजेक्ट, बद्री बहादुर, वडाध्यक्ष, जारी, सेन्टी भाइरस, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै, हृदयभरि, विच्छेद, गुञ्जन, परदेशीजस्ता फिल्मको रिलिज रोकिएको, सुटिङ शुरू गर्न नसकिएको र सुटिङ स्थगित गरिएको जनाएको छ।

यसैबीच बोर्ड अध्यक्ष दयाराम दाहालसहित फिल्म निर्माण, प्रदर्शन र वितरण क्षेत्रका फिल्म व्यवासायीहरूले उद्योग मन्त्री लेखराज भट्टलाई भेटी फिल्म क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगको मान्यता प्रदान गर्न माग गरेका छन्। मन्त्री भट्टले अबको केही समयभित्रै यो कार्य पूरा हुने आश्वासन दिएको फिल्म व्यवसायी अशोक शर्माले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्