सकसमा निजी स्कुलका शिक्षक–कर्मचारी



मञ्जु भट्ट ।

एकजना छिमेकीले गतवर्ष वैशाख १ गतेदेखि आफूले पढाइरहेको निजी स्कुल छोडेर घरमै बस्न थालेको देखेर आफू पनि शिक्षक भएको नाताले स्कुल छोड्नुको कारण नसोधी बस्न सकिन । महिनाको १० हजार तलबमा काम गर्नुपर्दा गाडीभाडा र खाजा खर्च कटाएर वर्षौं काम गर्दा पनि खासै पैसा जम्मा गर्न नसक्दा बरु ऋण गरेर भएपनि कुनै व्यवसाय गर्ने निधो गरेको उनले बताइन् ।घरअगाडि पानीपुरी बेच्नेले महिनाको ३० हजार रुपियाँ कमाएको सुन्दा स्कुलमा काम गर्नै मन नलागेको उनले सुनाइन् । न त सञ्चयकोषको व्यवस्था, न सामाजिक सुरक्षा कोषमा नै आबद्ध गरियो ! दुःख गरेर पढी स्कुलको शिक्षक हुँदा पनि दैनिक ज्याला–मजदुरीमा काम गरेको जस्तो भान हुने उनले सुनाइन् ।

उनी मात्रै हैन, तल्लो कक्षामा पढाउने धेरैजसो शिक्षकहरुको समस्या उनको भन्दा भिन्न छैन । सरकारले गत आर्थिक वर्षको साउनदेखि मात्र श्रमिकहरुको प्रतिमहिना न्यूनतम पारिश्रमिक १३,४५० रुपियाँ तोकेको छ ।तरपनि धेरैजसो निजी स्कुलमा तल्लो कक्षामा पढाउने शिक्षकको तलब श्रमिकहरुले पाउने न्यूनतम तलब जति पनि छैन । यदि निजी स्कुलले दिने तलबले राम्रोसँग हातमुख जोड्न पुग्थ्यो भने बिहानै कालो चिया खाएर जोगीले जस्तै विद्यार्थीको घर–घर पुगी महिनामा एकजोर जुत्ता फटाउने सोख कुनै पनि शिक्षकको हुँदैनथ्यो होला ।

अहिले सरकारले भर्चुअल कक्षाको व्यवस्था गरेको भनिए पनि बिजुली, इन्टरनेट, टेलिभिजन, रेडियोसम्म नहुँदा अझै पनि सामुदायिक स्कुलमा पढ्ने हजारौं बालबालिका पढाइबाट वञ्चित भएका छन् । सामुदायिक विद्यालयका बालबालिका प्रविधि नहुँदा पढाइबाट वञ्चित भएजस्तै निजी स्कुलमा पढाउने शिक्षकहरु तलब पाउनबाट वञ्चित भएका छन् । थोरै तलबमा निजी स्कुलमा काम गर्ने लाखौं शिक्षकहरुलाई यतिबेला परिवार पाल्नै समस्या भएको छ ।

देशभर रहेका ७ हजार निजी स्कुलका २५ लाखभन्दा बढी विद्यार्थीलाई पढाउने २ लाखभन्दा बढी शिक्षक तलबबाट वञ्चित रहेका छन् । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले संस्थागत स्कुलका ७५ प्रतिशत शिक्षकले चैतको समेत तलब नपाएको बताएका छन् । १२कक्षासम्म पढाउने शिक्षकहरुको पनि यही अवस्था छ ।हुन त कोभिड–१९ का कारणले सबै क्षेत्र अहिले धराशायी बनेका छन् । तैपनि सरकारी अफिस, कलकारखाना, साना व्यवसाय, पसलहरु, शेयर बजारलगायत कतिपय क्षेत्रहरु खुलिसकेका छन् । सार्वजनिक सवारीसाधन चलाउने विषयबारे पनि छलफल भइरहेको छ । तर स्कुलहरु कहिलेदेखि सञ्चालनमा आऊलान् भन्ने कुरा बढ्दै गएको कोरोना संक्रमणका कारण अन्यौल नै छ ।

तीन महिनादेखि तलब नपाउँदा श्रीमान्–श्रीमती नै शिक्षण पेसाम संलग्न वा श्रीमान् मात्रै निजी स्कुलका शिक्षक भएकाहरुलाई कोरोनापछि स्कुल, कजेज बन्द भएका कारण हातमुख जोड्न निकै गाह्रो हुँदै गएको छ । शिक्षक भएको नाताले ज्ञान बाँड्न मात्र जानेको हुँदा कसैसँग राहत वा ऋण माग्न पनि नसकिएको कतिपय शिक्षकको गुनासो रहँदै आएको छ । अभिभावकले विद्यार्थी स्कुल जाँदै नगएको, पढ्दै नपढेको शुल्क किन तिर्नु भन्छन् । जुन कुरा सही पनि हो । स्कुलले विद्यार्थीबाट शुल्क लिएको छैन, कसरी तलब खुवाउने ?भन्छ । त्यो पनि कता–कता कुनै स्कुलका लागि साँचो हुन सक्छ । साना तथा नयाँ खोलिएका केही स्कुलले महिनाको लाखौं भाडा तिर्दै स्कुल खोलेका छन् । विद्यार्थीबाट शुल्क नलिँदा यस्ता स्कुललाई शिक्षकलाई तलब खुवाउन गाह्रो भएको हुन सक्छ । तर नाफा कमाउने उद्देश्यले खोलिएका कैयौं पुराना स्कुलहरुले पनि यस्तो विषम परिस्थितिमा शिक्षकलाई तलब दिन आनाकानी गरेका छन् ।

राजधानीलगायत शहरका धेरैजसो निजी स्कुलको आर्थिक अवस्था राम्रै रहेको देखिन्छ । त्यस्ता स्कुलले पनि ‘चान्समा डान्स गर्नुपर्छ’ भनेझैँ शिक्षकको तलब दिएका छैनन् । कहिलेसम्म स्कुल बन्द रहने हुन् भन्ने यकिन नभएकोअवस्थामा शिक्षकलाई निकाल्नुको सट्टा ऋण लिएर भएपनि तलबको व्यवस्था गर्न कुनै पनि स्कुलले चाहेका छैनन्, न त सरकारले नै यसबारेमा मुख खोलेको छ । जे–जस्तो अवस्था आइपरेको भएपनि शिक्षकले भने अनलाइन कक्षाबाट आफ्ना विद्यार्थीलाई ज्ञान बाँड्ने काम भने निरन्तर गरिरहेका छन् ।

निजी स्कुलले आफ्ना शिक्षकलाई दिने केही हजार सुख्खा तलबबाहेक अन्य आम्दानी नभएका, शहरमा महँगो भाडा तिरेर बसेका निजी स्कुलमा पढाउने शिक्षकका पीडा कसैले पनि बुझ्न सकेका छैनन् । तीन–तीन महिनामा हुने एकाइ परीक्षा तथा त्रैमासिक परीक्षाको लागि प्रश्नपत्र बनाउने, त्ससलाई टाइप गर्ने, टाइप गर्ने उपकरण नभए पनि उपकरण किनेर वा अरुसँग मागेर वा बाहिर पसलमा टाइप गरेर जसरी भएपनि स्कुलमा बुझाउने,झोलाभरि परीक्षा लिएका उत्तरपुस्तिकाहरु बोक्दै घर जाने र जाँच्ने जस्ता धेरैजसो स्कुलका कामहरुलाई एउटा शिक्षकले मात्र रातभरि बसेर गरिरहेका हुन्छन् । कतिपय अवस्थामा स्कुलमा गृहकार्य गरेका कापीहरुसमेत जाँच्न नभ्याउँदा घरमा लगेर पनि जाँच्ने गरिन्छ ।

अहिले पनि सामुदायिक स्कुलका थोरै शिक्षकहरुले असार १ गतेदेखि अनलाइन पढाउन थाले पनि निजी स्कुलका धेरैजसो शिक्षकहरुले भने वैशाखदेखि नै अनलाइन कक्षाहरु लिइरहेका छन् । महिनामा तीन दिनभन्दा बढी गयल हुँदा तलब काटिने, सरकारले २५ प्रतिशत तलब बढाउँदा निजी स्कुलले मुस्किलले पाँच प्रतिशत बढाउने, ४० जनाभन्दा बढी एउटै कक्षामा हुँदा कमजोर विद्यार्थीलाई बुझाउन नसेकेको पीडा, कक्षाकार्य, गृहकार्यका कापी जाँच्न नभ्याएको बेला अभिभावकको गाली, बेला–बेलामा कक्षामा बसेर हुने मूल्यांकन तथा कहिलेकाहीँ कक्षामा हल्ला भएको बेला प्रधानाध्यापकको गालीले राति निद्रा खुल्दा पनि छटपटाउने गरेको एउटा निजी स्कुलमा पढाउने शिक्षकबाहेक कसैले पनि बुझ्न सक्दैन ।

नियुक्ति भएको १५–२० वर्ष बित्दा पनि न कुनै नियुक्तिपत्र, न कुनै परिचय पत्र, परिचयविहीन निजी स्कुलका शिक्षकहरु जताबाट पनि मारमा परेका छन् । न सञ्चयकोष, न सामाजिक सुरक्षाकोष, न कुनै राहतकोष, न कुनै आपत्कालीन कोष कुनै पनि सुविधानभएका कतिपय निजी स्कुल तथा ११–१२ कक्षा पढाउने शिक्षकहरुबाट कर भने सरकारले अरु सरकारी कर्मचारीसरह नै असुल्ने गरेको छ । निजी स्कुल छाता संगठन प्याब्सन तथा एन प्याप्ब्सनले सरकारले असार २२ गतेसम्म निजी स्कुलका बारेमा नबोले टेलिभिजनको भर्चुअल कक्षाबाहेकका सबै अनलाइन कक्षाहरु बन्द गर्ने चेतावनी दिएको थियो ।

अपवादबाहेक यदि देशभरिका सबै सामुदायिक स्कुलहरुमा शिक्षाको गुणस्तर राम्रो हुन्थ्यो भने सामुदायिक स्कुलका शिक्षक, सरकारी कर्मचारीले नै महँगो शुल्क तिरेर आफ्ना सन्तानलाई निजी स्कुलमै पढाउँदैनथे होलान् । यदि देशभरिका सबै सामुदायिक स्कुलमा गुणस्तरीय शिक्षा दिइन्थ्यो भने अर्थमन्त्रीले नै आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सरकारले बुँदा नम्बर ११६ मा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु’ भन्ने बुँदा हुँदैनथ्यो होला ।

न विद्यार्थी, न स्कुल, न अभिभावक, न सरकार कसैले पनि सम्मान दिन नसकेको पद हो निजी स्कुलका शिक्षक । भन्ने बेलामा काम नपाएर निजी स्कुलको शिक्षक बनेको भनी हेपिन्छ । तर धनीमानी, नेता, मन्त्री, राजा–महाराजा सबै ठूलाबडाले निजी स्कुलमै आफ्ना सन्तानलाई पढाउन किन मरिहत्ते गर्छन् त ? पक्कै पनि काम नपाएका शिक्षकले पढाएको नै सबैलाई चित्त बुझेर र त होला नि ! द्वन्द्वकालको समाप्तिसँगै राजाको एकलौटी शासन हटेको पनि १२ वर्षभन्दा बढी भैसकेको छ । सरकारको काम गराइ र वर्षौंदेखिको राजनीतिक खिचातानी हेर्दा अबको १२ वर्षमा पनि देशका गाउँ–बस्तीमा विकासको लहर पुग्लाजस्तो देखिन्न । जसका कारण शहरमा बसी दुःख गरेर पढेको एक शिक्षित व्यक्ति आफूले कडा मिहिनेत गरेर हासिल गरेको ज्ञानलाई सदुपयोग गर्न या त निजी स्कुलको शिक्षक बन्छ, या विदेशतिर हानिन्छ । अहिलेको कोरोना महामारीमा धेरै दुःख पाउने तर सहानुभूति नपाउनेमा ती विदेशतिर हानिने र निजी स्कुलका शिक्षक पनि रहेको देखिन्छ ।८ सयभन्दा बढी सांसदहरु पालिरहेको हाम्रो सरकारले उनै सांसदका छोराछोरी पढाउने शिक्षकहरुको बेहाल हुँदा पनि जम्मा एकजना सांसदले निजी शिक्षकको बारेमा बोल्दापानी नपाएर छटपटिएको माछोले पानी पाएजस्तो भान निजी स्कुलका सबै शिक्षक, कर्मचारीलगायत प्लस टुमा पढाउने शिक्षकहरुलाई अहिले भएको छ ।

(लेखिका भट्ट शिक्षिका हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्