प्राडा शेरचनलाई ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड’



काठमाडौं, (नेस) ।

आफ्नो जीवनको चार दशकभन्दा बढी समय विभिन्न सरुवा तथा संक्रामक रोग र विभिन्न प्रकारका परजीवीबारे सफल अनुसन्धान गर्दै आउनुभएका वरिष्ठ वैज्ञानिक प्राडा जीवन शेरचनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वर्ण पदक र ताम्रपत्रसहितको ‘हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२०’ बाट सम्मान गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा सोमबार र मंगलबार आयोजना गरेको दुईदिने डिजिटल ‘नेपालका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको छैठौं राष्ट्रिय सम्मेलन’ समापनका अवसरमा प्राडा शेरचनलाई सो अवार्ड प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्राडा अञ्जनीकुमार झा, परिषद्का प्रमुख कार्यकारी अधिकृत एवं सदस्य–सचिव डा. प्रदीप ज्ञवालीले प्राडा शेरचनलाई सो अवार्ड प्रदान गरेका थिए । रामशाहपथस्थित परिषद्को हलमा सो एवार्ड प्रदान गरिएको हो । त्यस अवसरमा परिषद्का उत्कृष्ट कर्मचारी तथा विदेशमा बसेर विभिन्न विषयको अनुसन्धान गर्ने ३ जना नेपालीलाई पनि सम्मान गरिएको थियो ।

नेपाल सरकारले केही दिनअघि मात्रै नमुनाका रूपमा नेपालमा पहिलोपल्ट शुरू गरेको रोटा भाइरस खोपको सफल अनुसन्धान पनि प्राडा शेरचनले स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य महाशाखा, विश्व स्वास्थ्य संगठन र युनिसेफसँगको सहकार्यमा १० वर्ष लगाएर गर्नुभएको थियो ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको सूक्ष्मरोग विभाग तथा जनस्वास्थ्य प्रयोगशालाको प्रमुखबाट हालैमात्र सेवानिवृत्त हुनुभएका प्राडा शेरचनले यसअघि पनि स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट अनुसन्धानकर्ताका रूपमा ३५ हजार नगदसहितको विशिष्ट अनुसन्धान पुरस्कारको साथै विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नास्ट’ बाट ५० हजार राशीसहितको युवा वैज्ञानिक प्रविधि प्रबन्धन पुरस्कार पनि पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्