अब एक व्यक्तिले दुईवटा भन्दा बढी मोबाइल सिम लिन नपाउने



काठमाडौं, (नेस)

सरकारले अब एक व्यक्तिको नाममा दुईवटा मात्रै मोबाइल सिम लिन पाउने व्यवस्था गर्न लागेको छ । मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई सरकारले पत्राचार गरी उक्त व्यवस्था लागू गर्न पनि आग्रह गरेको छ ।

यसअघि सरकारले सिमकार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन । मोबाइल सिमको प्रयोग गरी अपराध गर्ने काम अत्यधिक बढेपछि सरकारले मोबाइल सेवा प्रदायकहरूलाई उक्त निर्देशन दिएको बताइएको छ ।

अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई–दुईवटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउने भएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ ।

प्रवक्ता मीनप्रसाद आर्यालका अनुसार एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको गृह मन्त्रालयको सुझावका आधारमा नयाँ व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्