क्वारेन्टाइन कथा: पीसीआर रिपोर्ट कुर्दाकुर्दै मृत्यु  



  • सिर्जना पन्त, बागलुङ

कोरोना रोकथाम, उपचार र नियन्त्रणको अभियानमा गण्डकी प्रदेश सरकार तयारी, सजगता र प्रतिकार्यको हिसावले देशभरमा अग्रस्थानमै देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण भएको १० दिन र नेपाल सरकारले १४ दिनमा अस्पताल या आइसोलेसनमा उपचाररत रहे पनि कुनै लक्षण नदेखिएको हकमा डिस्चार्ज गर्ने नयाँ मापदण्ड बनायो । तर, गण्डकी प्रदेशले अस्पताल या आइसोलेसन बसेका सबै संक्रमितको पछिल्लो रिपोर्ट अनिवार्यरूपमा नेगेटिभ नआउँदासम्म घर नपठाउन कडाइका साथ निर्देशन ग¥यो ।

जसले संक्रमित निको भएर घर जाँदा बखतको समुदायमा आतंक पनि अहिले रोकिएको छ । यद्यपि ७ वटा प्रदेशमध्ये चुस्त तयारी र व्यवस्थापनमा अगाडि देखिएको गण्डकी प्रदेशको बागलुङभित्रका क्वारेन्टाइनका कथा भने दुःख र कहालीलाग्दो आउन थालेका छन् । जिल्लाको ढोरपाटन क्वारेन्टाइनमा पीसीआर रिपोर्ट पर्खाइमा मर्नुपर्ने विवशतासमेत देखिएको छ ।

कुर्दाकुर्दै मृत्यु
असार २ गते भारतबाट फर्किएका बागलुङको निसीखोलाका २९ वर्षीय युवाले कोरोना रिपोर्ट कुर्दाकुर्दै २१ गते क्वारेन्टाइनमै मृत्युवरण गरे । होम क्वारेन्टाइनमा बसेको १० दिनपछि मात्र उनको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको ९ दिनमा मृत्यु भएपछि मात्र उनलाई कोरोना पुष्टि भयो । बागलुङका विभिन्न क्वारेन्टाइनमा थोरैमा १० दिनदेखि १ महिनासम्म रिपोर्टको पर्खाइमा बसेका युवा मात्र होइन, महिला, बालबालिका र जेष्ठ नागरिक पनि छन् ।

क्वारेन्टाइनमै सुत्केरी
बागलुङको निसीखोला गाउँपालिकामा स्वाब परीक्षणको रिपोर्ट कुरेर बसेका २ जना गर्भवती महिला होम क्वारेन्टाइन र १ जना महिलाले गाउँपालिकाले निर्माण गरेकै क्वारेन्टाइनमा बच्चा जन्माएका छन् । सुत्केरी भएको हप्ता दिनपछि उनीहरूको बल्ल रिपोर्ट नेगेटिभ आयो । समयमा स्वाब संकलन र पीसीआरको रिपोर्ट नआउँदा आफू र आफ्नो बच्चाले समेत राम्रो स्याहार नपाएको उनीहरूको गुनासो छ ।

क्वारेन्टाइनमा भेल र सर्प पसेपछि
लामो समयसम्म रिपोर्ट कुरेर क्वारेन्टाइनमा बस्दा शारीरिकरूपमा मात्र नभएर मानसिकरूपमा समेत असर परेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको भनाइ छ । ‘गाउँपालिकालाई परेको आर्थिक भारको कुरै नगरौं’, पौडेल भन्नुहुन्छ– ’त्रिपाल टाँगेर बनाइएका क्वारेन्टाइनभित्र पानी पसेको छ, सर्प पसेको छ, मानिसहरू रातभर जागा बसेका छन् ।’

सुविधासम्पन्न भौतिक संरचनाको अभाव हुँदा तत्कालीन समस्या समाधानका लागि बनाइएका क्वारेन्टाइनले थप समस्या उत्पन्न गरेको उहाँको भनाइ छ । ‘पटक–पटक जिल्लादेखि प्रदेश र केन्द्रलाई पनि ताकेता गरेका छौं, बालबालिका, वृद्ध, महिला र बिरामी रहेका मानिसको समयमै रिपोर्ट पठाउनुप¥यो भनेर भनिरहेका छौं’, पौडेलले भन्नुभयो– ‘तर, उहाँहरूले हाम्रो कुरालाई गम्भीरतापूर्वक लिनुभएकै छैन । जसका कारण अप्रिय घटना बेहोर्नुपर्ने अवस्था आउन थालिसकेको छ ।’

महिना दिनसम्म रिपोर्ट आएन, घर गएको भोलिपल्ट रिपोर्ट पोजेटिभ
महिना दिनसम्म रिपोर्ट कुर्दा–कुर्दा नआएपछि क्वारेन्टाइनमा बस्दैनौं भनेर घर गएका एक युवामा कोरोना पोजेटिभ देखिएको छ । समयमा रिपोर्ट नआएर अन्दोलन गरी घर गएको पोजेटिभ रिपोर्ट आएपछि एम्बुलेन्समा राखेर स्वास्थ्य संस्था पु¥याइएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले जिल्लाबाट स्वाब संकलन गरी पठाएको मितिअनुसार क्षयरोग उपचार केन्द्र र गण्डकी अस्पताल गरी दुई वटा प्रयोगशालामा पालैपालो स्वाब परीक्षण गर्ने गरिएको बताउनुभयो ।

आइसोलेसनम रहेका, क्वारेन्टाइन र आइसोलेसनमा निधन भएका, काजकिरिया गर्नुपर्ने भएमा मानवीय संवेदनशीलता हेरी स्वाब परीक्षणमा प्राथमिकता दिइएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्