सरकारद्वारा ‘पंक्षी’लाई प्रादेशिक प्रतिभा पुरस्कार



दीपक निरौला,इटहरी ।

‘पंक्षी बा’को उपनामबाट चिनिने साहित्यकार तथा कलाकार जीवनाथ पोखरेल ‘पंक्षी’लाई संघीय सरकारले ‘प्रादेशिक प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत गर्ने भएको छ । विगत पाँच दशकअघिदेखि नै शिक्षा, साहित्य र कलाक्षेत्रमा लागेका प्रदेश नंं.१, इनरुवा, सुनसरीका ‘पन्छी’लाई नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ललितकला विधातर्फ रु. ५० हजार रुपैयाँ राशिको ‘प्रादेशिक ललितकला’ पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको हो ।

बाल्यकालदेखि नै उनको रुचि साहित्य सिर्जना, चित्रकला, मूर्तिकला, पंक्षी संरक्षण, अध्ययन तथा अनुसन्धान रहेको छ । ‘एन आर्ट’का सूत्रधार समेत रहेका जीवनाथ पोखरेल ‘पंक्षी’ आफैँले प्रतिपादन गरेको सूत्रको आधारमा लोपोन्मुख विभिन्न प्रजातिका पंक्षी संरक्षणमा निरन्तर सक्रिय रहेका छन् । प्रकृतिको संरचना नबिगारी विभिन्न किसिमका लेउ, झ्याउ, नरिवल, सुपारीका जटा, सन्ठी, घुँगी, बाँस तथा गिट्टीबाट ठ्याक्कै चराको प्रतिमूर्ति उतार्न र चित्र बनाउन उनी माहिर छन् ।

मूर्ति र चित्रकलामा केही नयाँपन देखाउनु पर्छ भन्ने सोचका साथ साधनारत पंक्षी भन्छन्– रङ र कागज सबैले चलाए अब विकल्प खोज्नुपर्छ । ‘फाइव एन आर्ट’को परिकल्पना यही कारण गरिएको हो । उनले आधुनिक कलामा उत्तरवर्ती प्रयोग र सार्थक सिद्धान्त ‘फाइव एन’को प्रतिपादन गरेका छन् । एन– नेशनल (मौलिक), एन– नेचुरल (प्राकृतिक श्रोतको उपयोग), एन– न्यू (जीवनको अभिव्यक्ति), एन– नाइस (सौन्दर्यात्मक अभिव्यक्ति), एन– नर्मल (मूर्त आधार) ।

ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य समेत रहिसकेका उनले प्रयोग गरेका चित्रकलाका सामग्री विश्वका कुनै मूलुकमा पनि आजसम्म नक्कल नगरिएको उनको दाबी छ । यो नै चित्रकलामा नयाँ र नौलो प्रयोग हो । यस्ता अतुलनीय रत्नलाई नेपाल सरकारले उनको सिर्जना र कलाको सम्मान गर्दै पुरस्कृत गर्ने भएको हो ।

पुरस्कार आषाढ २९ गते भानु जयन्तीका अवसरमा प्रदान गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ । पंक्षीसँगै सातै प्रदेशका भाषा, साहित्य, संसकृति, कला, नाट्य गीत, सङ्गीत लगायतका करिब ६९ जना प्रतिभाले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्