कर्जाको पुनर्संरचना गर्न महासंघको जोड



न्युज अफ नेपाल, काठमाडौं ।

लकडाउनका कारण सहज तरिकाबाट व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था सिर्जना नभएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा, ब्याज भुक्तानीको समयावधि बढाउनुका साथै ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

महासंघले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरिरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायी गम्भीर संकटमा रहेको उल्लेख गर्दै असार मसान्तभित्र कर्जा तथा ब्याज चुक्ता गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ । कठिन अवस्थामा बैंक तथा वित्तीय संस्थाद्वारा ताकेता गर्दा अर्थतन्त्र बलियो बनाउन खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको तथा पेशा व्यवसायबाटै पलायन हुने परिस्थिति निर्माण भइरहेको महासंघको भनाइ छ ।

उद्योग व्यवसाय बचाउनेतर्फ सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने हुँदा महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराउँँदै निजी क्षेत्रको आवाजलाई समयमै सम्बोधन गर्न महासंघले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्