दलित विषयको बहस



कथित दलित वर्ग र समुदायको मूल उत्पति अनार्य र गैरहिन्दू समुदाय हो । मूलवासी र तत्कालीन शासक वर्ग हो, दलित । कल, बल र छलपूर्वक आर्यवंशको शासन सत्ता शुरु भएसँगै सिन्धु सभ्यतामा नश्लीय शासन हुन थाल्यो । आर्यवंशको कपटपूर्ण युद्धमा हार्न पुगेका र हार स्वीकार नगरेको जाति वंशलाई शूद्र बनाइयो ।
कैयन् जाति, आदिवासी जंगल पस्न बाध्य भए । त्यसरी शूद्र, पानी नचल्ने, छुन नहुने जाति बनाई ती समुदायको इतिहास मेटाउने कार्य भयो । फलस्वरूप शूद्र र दास जाति (महिला) लाई धेरै वर्षसम्म सम्पत्ति, शिक्षालगायतका हक–अधिकारबाट वञ्चित गराइयो ।
कथित दलित वर्ग र समुदायका भाषा, धर्म, जात, जाति, पेसा, क्षेत्र, वर्ग, समुदायको हक–अधिकार प्राप्तिका सबै आन्दोलन आफ्नै आन्दोलन हो । विभेद, छुवाछूत, अन्याय आदिबाट मुक्तिको तत्काल जरुरी छ ।
महिलाहरू समान हकको निमित्त लडे पनि उनीहरू त महिला नै रहने हुन् । तर दलित सधैँ दलित रहने या रहनै पर्दछ भन्ने मुद्दा होइन र हुनै सक्दैन । दलित दृश्य, बोली, व्यवहार, रंग, पहिरन, शारीरिक बनोट आदिका आधारमा पहिचान गर्न सकिने वर्ग होइन । दलित त नश्लवादी र ब्राह्मणवादी चिन्तनले कृत्रिमरूपमा छुट्याएको गलत सोच र व्यवहार मात्रै हो । प्रकृति, संस्कृति र राजनीतिको प्रभावले मानिसबीच भिन्नता देखा परे । नेपालको मात्रै होइन, विश्वका कमै मुलुकका जनता होलान्, जुन एकथरी मान्छेको रगतमा अर्को प्रकारको जातिको रगत नमिसिएको होस् । शूद्रहरूका हकमा पनि कालान्तरमा विभिन्न जाति, समुदायको रक्त मिश्रण हुन पुग्यो ।
आर्य, मंगोल, द्रविड, मुस्लिम, इसाईलगायतका समुदाय, धर्मसँग नश्ल मिश्रण भयो र आजको दलित वर्ग–समुदाय भ्रमित बन्न पुग्यो । त्यसकारण स्वाभाविकरूपमा दलित वर्ग र समुदायले आफ्नो मुक्ति संघर्षको लक्ष्य मानवतावाद नै बनाउनु आवश्यक छ ।
– समीर अधिकारी, बारा, नेपाल ।

प्रतिक्रिया दिनुहोस्