खानेपानीको चरम संकट झेलिरहेका विकट बस्तीको घर–घरै धारा



राम धामी, डडेल्धुरा

वर्षौंदेखि खानेपानीको चरम अभावका कारण टाढाको खोलाबाट दूषित पानी भरेर खान बाध्य परशुराम नगरपालिका–३ का विकट बस्तीहरू कालिढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाउँका १ सय १६ परिवारले घर–घरमै धारासहित शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराले गत आर्थिक वर्षदेखि कार्यान्वयन गरिरहेको कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी आयोजनाले बस्तीमा पानी पु¥याएपछि खानेपानीका लागि घन्टांै हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ ।

कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी आयोजनामार्फत ६ किलोमिटरको दूरीमा रहेको कालापातल खोलाबाट चारवटै बस्तीसम्म खानेपानी पुगेपछि स्थानीय उत्साहित भएका छन् । खानेपानी योजना माग गर्दा नजिकै मुहान नभएकाले चार बस्ती समेटेर बृहत् खानेपानी योजना निर्माण कार्य शुरू भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ३ करोड ४८ लाख बजेट विनियोजन भएपछि गतआर्थिक वर्षदेखि खानेपानी योजना निर्माण कार्य शुरू भएको र हालको लकडाउन अवधिमा पाइपलाइन निर्माण कार्य सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले बताउनुभयो ।

उहाँले लकडाउनको अवधिमा समेत दु्रत गतिमा निर्माण कार्य सुचारु गरिएकाले अगामी आर्थिक वर्षसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ९० प्रतिशत भौतिक प्रगति हासिल भइसकेको जानकारी दिए ।
मुहानदेखि बस्तीसम्म खानेपानी पु¥याउन निकै चुनौतीपूर्ण भए पनि शिर्षखोलामा रोपवे क्रसिङ गरेर खानेपानी बस्तीसम्म पु¥याउन सम्भव भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका इन्जिनियर गोविन्द देवकोटाले बताउनुभयो ।

खानेपानी योजनाका अधिकांश संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ भने एक घर एक धारा वितरण गरिएको कालापातल कालढुङ्गी आमथला हल्द्वानी सिमल्टा खानेपानी योजना उपभोक्ता समितिले जनाएको छ । समितिले अत्यन्तै विकट बस्तीमा पुगेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियरहरूले अहोरात्र खटेर काम गरेकाले लक्ष्यभन्दा केही समयअघि नै योजना सम्पन्न हुन लागेको छ ।

बस्तीमा खानेपानी पुगिसकेपछि उत्साहित स्थानीय बासिन्दाले अहोरात्र श्रमदान गरेर भए पनि अगामी दशैंसम्म खानेपानी योजना सम्पन्न गरिसक्ने जनाएका छन् । डडेल्धुराका विभिन्न विकट बस्तीमा यस वर्ष खानेपानी योजनाहरू सम्पन्न भई १ हजारभन्दा बढी घरधुरी बासिन्दाले शुद्ध खानेपानी उपभोग गर्न पाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।

खानेपानीको चरम अभाव झेलिरहेको अमरगढी नगरपालिका–१० राई गाउँमा समेत चालू आर्थिक वर्षमा बस्तीसम्म खानेपानी पुगिसकेको कार्यालयले जनाएको छ । खानेपानीको चरम अभावका कारण बिहानै भाँडाकुँडा बोकेर दिनभर पानी भर्ने काममा खटिनुपर्ने बाध्यता रहेको नवदुर्गा गाँउपालिका–४ को दलित बस्तीमा समेत चालू आर्थिक वर्षमै खानेपानी योजना निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्