कोरोना जितेका युुवाले गरे आत्महत्या



पाल्पा, (नेस)

पाल्पामा कोरोना जित्दा खुसी हुँदै घर फर्केका एक युवाले घरमा पुगेर आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुका आत्महत्या गरेका हुन् ।

वडाध्यक्ष भोजबहादुर विकका अनुसार उनी भारतको बम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वारेनटाइनमा बसेका थिए । उनको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

संक्रमणपछि ती युवालाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुन्डिएर आत्महत्या गरेका हुन् । उनी २८ दिनसम्म विद्यालयको क्वारेनटाइन र १५ दिन अस्पतालको आइसोलेसनमा बसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्