कोरोना भाईरस हावाबाट पनि सर्छ- विश्व स्वास्थ्य संगठन



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वमै मानवीय अस्तित्व माथि नै चुनौति बन्दै आएको कोरोना भाइरस कोरोना संक्रमितको थुकको छिटा वा हाँच्छिउ गर्दा निस्कने छिटाबाट मात्र सर्छ भनि सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले निर्देशन दिँदै आएको थियो ।

अहिले विश्व स्वास्थ्य संगठनले नै कोरोना भाइरसकोे संक्रमण हावाबाट पनि सर्छ भनेको छ । विश्व स्वास्थ्य संगठनलाई ३२ देशका २ सय ३९ जना बैज्ञानिकहरुले गरेको अध्ययन अनुसन्धानबाट कोरोना भाईरस हावाबाट पनि सर्छ भन्ने प्रमाणसहित पत्र विश्व स्वास्थ्य संंगठन समक्ष प्रस्तुत गरेपछि विश्व स्वास्थ्य संगठनले प्रमाणको आधारमा स्विकार गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्राविधिक प्रमुख डा.मारिया भान केरकोभले हावाबाट पनि कोरोना सर्ने सम्भावनाका विषयमा छलफल चलिरहेको बताउनुभएको छ ।

बैज्ञानिकहरुले भाइरसको सानो – सानो कण हावामा रहन्छ र त्यसबाट मानिसलाई संक्रमित बनाउने दाबीसहित विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेको उहाँले उल्लेख गर्नुभएको छ । बैज्ञानीकहरुले कोरोनाबारे विश्व स्वास्थ्य संगठनले आफ्ना गाइडलाइनहरू परिवर्तन गर्न सुझाव समेत दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले अहिले भीडभाड, कम हावा चल्ने स्थान अथवा बन्द कोठामा पनि एकव्यक्तिबाट अर्को व्यक्तिमा हावाका माध्यमबाट कोरोना सर्ने शंका गरेको छ ।

विश्व स्वास्थ्य संगठनका संक्रमण रोकथाम तथा नियन्त्रण टिमका प्रमुख डा. बेंडेटा अलेग्रेंजीले कोरोना हावाको माध्यमबाट पनि सर्छ भन्ने प्रमाण मिलेको भएपनि अझै बलियो आधार फेला नपरेसम्म एकिन गर्न नसकिने बताउनुभएको छ ।

बैज्ञानिकहरूले भने संक्रमितले खोक्दा, हाछ्यु गर्दा निस्कीएको थुकको छिटा एउटा कोठाको लम्बाई जत्तिको दुरीसम्म फैलने र त्यसले अर्काे मानिसलाई भाइरस सार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्