नेपाली राजनीतिमा दुई सलहको सलबल



  • नन्दलाल खरेल

नेपाली किसानहरु कीरारुपी सलह (फट्याङ्ग्रा) बाट आतङ्कित छन् भने नेपाली जनता दुई राजनीतिक सलहको सलबलले आतङ्कित छन् । किसानको बाली जोगाउन सलह कीरालाई विषादी छर्केर वा अन्य कुनै उपाय लगाएर नियन्त्रण गर्न सकिएला तर नेपालका दुई राजनीतिक रुपधारी सलह (एउटा बालुवाटार र अर्को खुमलटार) लाई कसरी नियन्त्रण वा सही दिशामा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कुनै औषधि फेला पर्न सकेको छैन ।

यिनीहरुको औषधि कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाउन कठिन भएझैँ छ । यिनीहरुको औषधि पत्ता लगाउन देशी–विदेशी शक्ति र दोस्रो तहका नेतृत्वका सलहहरु पनि उत्तिकै लागिपरेका छन् । यी दुईवटा टारका सलहले अन्य नेता तथा कार्यकर्तालाई मात्र होइन, पूरै देशका जनतालाई चिन्तित बनाएको छ ।

यति बेला दुई तिहाइनजिकको नामधारी कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । यो आलेख लेख्दै गर्दासम्म शक्तिसंघर्ष साम्य हुने कुनै छाँट देखिएको छैन । यी दुईको शक्तिसंघर्षले सत्तारुढ दल नेकपाका नेताहरुको मन मात्र विभाजित भएको छैन प्रतिपक्षी दल, अन्य पार्टी, राजनीतिक बुद्धिजीवी, लेखक, पत्रकार, ब्युरोक्रेसी, प्रहरी, सेना, वकिल, व्यापारी, किसानलगायत आमजनताको मत विभाजित भएको छ ।

कतिले ओली ठीक, कतिले प्रचण्ड ठीक, कतिले दुवै बेठीक भनेका छन् । तर आमनेपालीले यी दुवै नेता बेठीक भन्ने तर्क राख्छन् । कुनै आस्था र विचारबाट प्रभावित नहुने अधिकांश जनता र राष्ट्रपे्रमी, देशभक्ति भावना बोकेका स्वतन्त्र जनता भने यी दुवै नेताहरुको पक्षमा छैनन् । तर कतिपय प्रगतिशील विचार राख्ने नेता तथा जनताले यो संसदीय फोहोरी खेलको व्यवस्थामा जो आए पनि कुनै तात्विक भिन्नता हुँदैन भन्नेमा सहमत राख्छन् भने यो पङ्क्तिकार पनि संसदीय व्यवस्थाबाट नेपाली जनताको समृद्धि र मुक्ति असम्भव छ भन्ने विचारको नजिक छ ।

आवरणमा रहेको शक्तिशाली कम्युनिस्ट पार्टीका महत्वपूर्ण संरचना (कमिटी) हरुमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा गएका छन् । त्यति मात्र होइन, उनी एक्लिँदै गएका दृश्यहरु देखिँदै आएका छन् । अझ स्पष्टरुपमा भन्नुपर्दा नेकपाको सचिवालय र स्थायी समितिमा उनी अल्पमतमा गएका छन् । तैपनि उनी विधान–पद्धतिलाई नाघेर म प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कदापि पछि हट्दिन भन्दै चट्टानी अडान लिएर बसेका छन् ।

ओलीको सत्तालोलुप राष्ट्रवाद उत्कर्षमा पुगेको छ । मैले गर्दा नै नयाँ नक्सा सार्वजनिक भएको हो झैँ गरी उनी प्रस्तुत हुँदै छन् । तर यो पङ्तिकार तथा आमनेपालीले बुझेका कुरा के हो भने, पार्टीको निर्णय, विपक्षी दल तथा अन्य दलको सहयोगले मात्रै यो नयाँ नक्सा जारी भएको हो । अझ बुझ्नुपर्ने कुरा त के हो भने, पार्टीको सचिवालयको बहुमतले नयाँ नक्सा जारी गर्ने निर्णय गरेपछि लतारिएर उनले अन्तिममा साथ दिएका हुन् ।

केही महिनाअघिसम्म सञ्चारकर्मीलाई नयाँ नक्सा त पे्रसलाई दियो भने छापिहाल्छ नि, भूमिसहित फिर्ता लिने कुरा ठूलो हो भन्ने यिनै प्रधानमन्त्री हुन् । त्यो रेकर्ड अहिले पनि सुरक्षित छ । अनि ओली कसरी भए राष्ट्रवादी ? बडो अचम्म छ । अझ कतिपय राजनीतिक विश्लेषक तथा लेखकहरुले समेत ओली एक नम्बरका राष्ट्रवादी नेता हुन् भनी उनकै दानापानी खाएझैँ गरी भक्तिभावले गुणगान गाएको देख्ने र सुन्ने गरिएको छ । भोलिका दिनमा थाहा हुन्छ कि ओली कति राष्ट्रवादी हुन् ?

संघीय र प्रदेश चुनावको अगाडि भएको ऐतिहासिक कम्युनिस्ट एकता, नाकाबन्दीविरुद्ध पार्टीले लिएको नीति, व्यापक चुनावी जनसमर्थन र दुई तिहाइनजिक बहुमत बोकेर सत्तामा आएको नेकपा यतिखेर आन्तरिक व्यवस्थापनको संकट र प्रधानमन्त्री ओलीको कार्यशैलीको कारण दुई पार्टी एकता हुँदाको भद्र सहमति तोडमोडका कारण गम्भीर संकटमा पुगेको छ । प्रधानमन्त्री ओलीका समानान्तर सहकर्मी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा (बादल)हरुले प्रधानमन्त्रीलाई अहंकारी, दम्भी, स्वेच्छाचारी आदिको आरोप लगाएका छन् ।

त्यति मात्र होइन, प्रधानमन्त्रीले जनतालाई सेवा डेलिभरी दिन नसकेको, सहमति तोडी एक्लै बढ्न खोजेको समेत आरोप लगाएका छन् । जुन आरोपहरु धेरै हदसम्म सत्यको नजिक छन् । यद्यपि प्रचण्ड, माधव, झलनाथले पनि ओलीलाई खुलेर सहयोग गर्नुको सट्टा प्रधानमन्त्रीकहाँ असफल हुन्छन् भनेर उचित मौकाको पर्खाइमा रहेको पाइन्छ ।

शक्तिशाली सरकारका नाइके प्रधानमन्त्री केपी शर्मा ओली महामारीको मौका छोपेर अधिनायकवादी अभिष्ट पूरा गर्ने योजनामा छन् । उनी अहिले राष्ट्रवादको पगरी गुथेर सत्ता जसरी पनि आफ्नो मुठीमा राख्न चाहन्छन् । सत्तालाई मुठीमा राख्न उनको बलियो हतियार राष्ट्रवादलाई बारम्बार प्रयोग गर्छन् । २१ औं शताब्दीको डिजिटल युगका जनतालाई सामन्तवादी युगका जनतालाई झैँ मिति सकिएको (डेट एक्सपाएरको) औषधिजस्तै ‘राष्ट्रवादी कार्ड’ले अब काम नगर्ने देखिएको छ । यद्यपि उनी राजनीतिका कुशल खेलाडी भएर पनि यही पुरानो कार्ड पटक–पटक दोहो¥याई–तेह¥याई फालिरहेका छन् ।

प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीको जन्मदिवस पारेर जसरी पनि आफ्नो सहकर्मी नेता तथा भारतलाई जोड्दै आफ्नो सरकार संकटमा परेको अभिव्यक्ति दिए । त्यो अभिव्यक्तिले उनको सत्ताबाट हात धुने संकेत देखिएको छ । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेर आन्तरिक राजनीतिक र बाह्य चलखेललाई जोड्दै अमूर्त र उत्तेजक टिप्पणी गर्ने अत्यन्त अमर्यादित काम हो । दुई तिहाइनजिकको बहुमत पाएर पनि जनअपेक्षाअनुसार कार्य गर्न नसक्दा अहिले उनी यस्तो रक्षात्मक अवस्थामा पुगेका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक हुँदाताका शीर्षनेताहरुले ठूलो जहाजमा दुईवटा क्याप्टेन हुन्छन् भन्थे । आज समृद्धि उडानका यी दुई नक्कली पाइलटले मुलुकलाई बर्बादीको दिशामा लगिरहेका छन् । यी दुवै नेताहरु टेस्टेड भइसकेका छन् । ओलीलाई फालेर प्रचण्ड आउनु यो संकटको समाधान होइन । प्रचण्ड पनि एक खतरनाक तथा अवसरवादी राजनीतिक खेलाडी हुन् ।

सामान्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्दै त्यसलगत्तै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्यमा होमिएका जनयुद्धका नाइके क्रान्तिलाई धोका दिई दलाल पुँजीवादी संसदीय व्यवस्थालाई मजबुत बनाई आफू सत्तामा जाने र त्यसको पटक–पटक स्वाद लिने योजनामा केन्द्रित छन् । आज ओली र प्रचण्डको सत्तासंघर्ष समृद्धि, विकास र सामाजिक न्याय तथा शान्तिको लागि पटक्कै होइन । यिनीहरुको जुँगाको लडाइँबाहेक केही होइन ।

शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरविरोध कहिले बालुवाटार, खुमलटार, झम्सिखेल हुँदै सडकमा समेत देखिएको छ । सम्भवतः यो अन्तरविरोधी अहिलेसम्मकै उत्कर्ष हो । हिजो अन्तरविरोधी हुँदा पार्टीका आफ्ना कमिटीमा मात्र हुन्थ्यो भने अहिले सडकसम्म पुग्नु ज्यादै लज्जाको विषय हो । पार्टीमा स्वस्थ छलफल हुनु, ‘दुई लाइन संघर्ष हुनु’, त्यसलाई सकारात्मक अन्तरविरोधको रुपमा लिइन्छ भने अहिले भएको अन्तरविरोध एकदमै तिक्ततापूर्ण (शत्रुतापूर्ण) रहेको देखिएको छ ।

कम्युनिस्ट पार्टी जहिल्यै पनि नीति, सिद्धान्त र विधानमा चल्नुपर्ने हो । पार्टीमा समस्या आए कस्तो विधि र प्रक्रियाबाट त्यसलाई हल गर्ने हो, त्यहाँ उल्लेख गरिएको हुन्छ । तर यहाँ सबै नेताहरुलाई थाहा हुँदाहुँदै पनि एकले अर्कोलाई कसरी कमजोर बनाउन सकिन्छ, कसरी छिर्के हान्न सकिन्छ र सत्ता प्राप्त गर्न सकिन्छ, त्यो मात्र देखिएको छ ।

पार्टीमा विचार समूह हुनु स्वाभाविक मान्न सकन्छि तर नेकपाभित्र गुटहरुको समूह छ । अहिले नेकपाभित्र मुख्यरुपमा तीन गुटहरु छन्– ओली, प्रचण्ड र माधव गुट । यिनै गुटका पछि अरु नेताहरु आफ्नो स्वार्थ राखेर कुदिरहेका छन् । सत्ताको पल्ला कता भारी हुन्छ गुटहरु पनि फेरबदल हुने गरेको छ । हिजो बामदेव ओली गुटमा थिए भने आज प्रचण्ड गुटमा छन् । हिजो रामबहादुर थापा (बादल) ओली गुटमा थिए भने आज फेरि प्रचण्ड गुटमा छन् । अहिले प्रचण्ड–माधव गुट ओली गुटलाई परास्त गर्न एक–आपसमा नजिक छन् । त्यत्तिकै एक–आपसमा सशंकित पनि छन् । पार्टीभित्रको झगडा आज ओलीका शुभचिन्तक तथा कार्यकर्ताले सडकमा ल्याए भने भोलि प्रचण्डका कार्यकर्ताले पनि ल्याउन सक्छन् ।

पर्सि माधव नेपालले पनि प्रदर्शन गर्न सक्छन् । तसर्थ यस्तो कार्य गर्नु÷गराउनु शोभनीय हुँदैन । आज केपी ओलीका पक्षले ‘भारतीय दलाल होसियार, केपी ओली जिन्दावाद,’ ‘विदेशी हस्तक्षेप मूर्दावाद’, ‘आजलाई होइन भोलिलाई पाँच वर्ष ओलीलाई’ भन्दै नारा घन्काइराखेका छन् । भोलि प्रचण्ड पक्षबाट पनि ‘नक्कली राष्ट्रवाद मूर्दावाद’, ‘महाकाली सन्धिका राष्ट्रघातीलाई फाँसी दे’, ‘भ्रष्टाचारीका नाइके ओली मूर्दावाद’ जस्ता नारा नआऊलान् भन्न सकिन्न । हिजो राजाले पनि आफ्ना पक्षमा जनतालाई सडकमा ओरालेका थिए । यस्ता हर्कतले लोकतन्त्रको रक्षा गर्दैन ।

पार्टी एकता हुँदा तत्कालीन एमाले र माओवादीबीच के सहमति थियो, त्यसको पनि हेक्का राख्न जरुरी छ । पार्टी एकता हुँदा सिद्धान्त, नीति र विचारमा नभएकोले नै यो दुष्परिणाम देखिएको हो । यो एकता छलछामको एकता हो ।जसरी पनि सत्ता प्राप्त गर्नुपर्छ भन्ने हेतुले यो एकता भएको थियो । इतिहासमा भएका गल्तीहरुलाई सच्याउन जरुरी छ । कोरोनाले भयावह रुप लिइरहेको बेला मुलुकले आर्थिक संकट व्यहोरिरहेको अवस्थामा जनताले अनावश्यक दुःख पाउने कुरा हुनुहुँदैन । वयोवृद्ध नेताहरु सधैँभरि आफू मात्र सत्तामा बस्ने कुरा कदापि राम्रो होइन । नेकपाको अन्तरविरोध समृद्धि/विकास र शान्तिको लागि रहोस्, न कि सत्ता प्राप्तिको छिर्के दाउ बनोस् ।
(लेखक खरेल अर्थ/राजनीतिक विश्लेषक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्