कलाकार तथा कोरियोग्राफर चौधरीको निधन



सवारी दुर्घटनामा परेका कलाकार तथा कोरियोग्राफर गोरन चौधरीको निधन भएको छ। सांस्कृतिक संस्थानका वरिष्ठ कार्यक्रम तथा योजना शाखा प्रमुख प्रभावकरदेव शर्माका अनुसार चौधरीको उपचारका क्रममा मंगलबार निधन भएको हो।

गत शुक्रबार राती साढे १० बजे मोटरसाइकल चढेर बूढानीलकण्ठबाट चपलीस्थित निवास फर्कने क्रममा दुर्घटनामा परेका चौधरीको मंगलबार बिहान १० बजे उपचारका क्रममा महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो। उनले चलाएको मोटरसाइकल अचानक सडकमा पार्क गरिएको डोजरमा ठोक्किन गई दुर्घटना भएको थियो।

उनको मोटरसाइकलमा पछाडि बस्ने अर्का कलाकार तथा रंगमञ्च व्यवस्थापक तिलक सुनुवारको भने उपचारकै क्रममा शनिबार बिहान शिक्षण अस्पतालमा निधन भएको थियो। चौधरी र सुनुवार दुवै सांस्कृतिक संस्थानमा जागिरे थिए।

दाङका ३८ वर्षीय गोरन कुशल रंगकर्मी तथा उस्तै प्रतिभाशाली नृत्य कलाकार र कोरियोग्राफर थिए। उनी सांस्कृतिक संस्थानमा नृत्य सहायकका रूपमा जागिरे थिए। उनले थुप्रै नाटकका विभिन्न भूमिकामा अभिनय गरेका थिए भने दर्जनौं नृत्यमार्पmत प्रशंसा कमाएका थिए। उनले कतिपय नृत्यका लागि कोरियोग्राफीसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्