आखाँको सुरक्षामा ध्यान दिऔँ



आँखा संवेदनशील अंग हो । सामान्य कुराले पनि आँखालाई असर पु¥याउने भएकाले यसलाई सुरक्षित राख्नुपर्दछ । आँखाको ख्याल राख्न किन जरुरी छ भन्ने कुरा हामी सबैलाई थाहा छ । आँखा छ र त रंग छ, हरियाली छ अनि सुन्दरताको अमुक भाव छ ।
यसो भन्दैमा हामीले दृष्टिविहीन साथीहरुको सुन्दरताको अनुभूतिलाई कम आँक्न खोजेको भनें हैन, तथापि आँखाको ख्याल राख्न जरुरी त हामी सबैको छ नि, हैन र ? त्यसमाथि विकासका पूर्वाधारजस्तै बाटाघाटा, पुलपुलेसा बनाउँदा धूलो जताततै हुन्छ । राजधानी काठमाडौं त झन् धूलोमाडौं नै भएको छ, बाटोमा खुल्ला अनुहार हिँडेमा गन्तव्य पुग्दासम्म मान्छेको अनुहार धूलोले चिन्नै नसकिने हुन्छ । यस्तो अवस्थामा आँखाको सुरक्षा झन् चुनौती हुन जान्छ ।
धूलो–धुवाँयुक्त वातावरणका कारण आँखामा समस्या देखा पर्छ । यसै गरी लामो समयसम्म एसीमा बस्दा, जाडोमा हिटरको नजिक बस्दा आँखा सुख्खा हुन्छ । अहिले डिजिटलको जमाना भएकाले सबै जना मोबाइल, कम्प्युटर तथा ल्यापटपमा व्यस्त हुन्छन् । एकोहोरो आँखा नझिम्क्याई ग्याजेट हेर्दा आँखाको आँसु सुकेर सुख्खा भई चिलाउँछ ।
आँखामा गाजल, आइलाइनर, आइस्याडो तथा मस्कारा आदि प्रयोग गर्दा पनि आँखाको परेलाको ग्रन्थि बन्द हुन्छ र आँसु बन्न पाउँदैन अनि आँखा सुख्खा हुन्छ । आँसु बन्ने ग्रन्थि बन्द हुँदा आँखामा आनोसमेत आउन सक्छ । जाडो मौसममा परेलामा पनि चाया पर्न सक्छ ।
आँखालाई धूलोबाट जोगाउन बाहिर निस्कँदा प्रोटेक्टिभ सनग्लास प्रयोग गर्नुपर्छ । कम्प्युटर, टेलिभिजन तथा मोबाइल हेर्दा अलि टाढै बसेर हेर्नुपर्छ । समय–समयमा आँखा झिमझिम गरिरहनुपर्छ । कम्युटरमा काम गर्ने भए लगातार नहेरी बीच–बीचमा ब्रेक लिनुपर्छ ।
धेरैले आँखामा गाजल, मस्कारा आदि लगाउँछन् । राति सुत्नुअघि त्यस्ता प्रसाधन राम्रोसँग सफा गनुपर्छ। आँखाको एक कुनाबाट अर्को कुनासम्म सफाइ गर्नुपर्छ। आँखाको तलको भाग सफा गर्दा माथि हेर्नुपर्छ भने माथिको भाग सफा गर्दा तल हेर्नुपर्छ । आँखा सुन्निएको छ भने मनतातो पानीले सेक्नुपर्छ । आँखा सुख्खा भएको छ भने कृत्रिम आँसु अर्थात् रिफ्रेस प्रयोग गर्न सकिन्छ । परेलामा चाया परेको छ भने बेबी स्याम्पु प्रयोग गर्नु उचित हुन्छ ।
– सीमा नेपाली, कैलाली ।

 

प्रतिक्रिया दिनुहोस्