व्यक्तिगत भन्नु नै राजनीतिक



‘व्यक्ति राजनीतिक हुन्छ’ भन्ने सन् १९६९ मा प्रकाशित नारीवादी कारोल हनिसको विचार सर्वत्र स्वीकारिएको छ । व्यक्तिगत जति पनि गतिविधि हुन्छन् त्यसमा राजनीतिको प्रभाव वा असर हुन्छ भन्ने आशय यस उक्तिले बहन गरेको छ । तर, यस अभिव्यक्तिको आशय ‘व्यक्ति दलीय राजनीतिक हुन्छ’ भन्ने चाहिँ होइन । हामीकहाँ हरेक व्यक्ति, समुदाय र संस्थालाई राजनीतिक बनाउने जो काम हुने गरेको छ, त्यो दुर्भाग्यपूर्ण छ ।

तर, पछिल्लो समयमा सुरक्षा क्षेत्रमा दलीय राजनीतिक गन्ध घटेको देखिनु सुखद पक्ष रहेको छ ।
मुलुकको शान्ति सुरक्षा गर्ने प्रमुख दायित्व बोकेको नेपाल प्रहरीलाई राजनीतिक दलले पटक–पटक आफ्नो अनुकूल प्रयोग गर्न थालेपछि विवादमा पर्दै आएको थियो । शान्ति सुरक्षामा ध्यान दिनुपर्ने संगठनका अधिकारीहरू नेताका घर–घरमा धाएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न सफल भएको विगतका थुप्रै उदाहरण छन् । अपराध अनुसन्धानमा दक्षिण एसियामा नै अब्बल मानिएको नेपाल प्रहरी विगत केही वर्षयता शिथिल बन्दै गएको आभाष हुन थालेको थियो ।

संगठनको विधि र विधान भन्दा पनि आफ्नो अनुकूलका व्यक्तिलाई बढुवा दिने प्रचलनले संगठनका लागि काम गर्नेहरू निरास बन्नुपर्ने अवस्था देखिएको थियो । प्रहरी संगठनको संरचनामा तत्कालीन गृहमन्त्री वामदेव गौतमले हमला गरेपछि त्यसले निरन्तरता पाउँदै आएको थियो । प्रहरी संगठन आफैं पवित्र भए पनि त्यहाँ कार्यरत वरिष्ठ अधिकारीहरू आफ्नो भविष्य राम्रो काम गरेर होइन नेताकहाँ धाएर पद पाउन थालेपछि संगठन लथालिङ्ग हुने अवस्थामा पुग्न थालेको थियो ।

प्रहरी संगठनको नेतृत्व परिर्वतन हुने बेलामा आफ्नै सहकर्मीले दुश्मनको जस्तो व्यवहार गर्ने र वैध–अवैध तरिकाबाट संगठन कब्जा गर्ने रणनीति अख्तियार गर्ने गरेको विगतको इतिहासले देखाएको छ । नेपाल प्रहरीमा २८औं प्रहरी महानिरीक्षक चयन गर्ने बेलामा भने राजनीतिक चलखेल भएको देखिएन । प्रहरी प्रमुखको दाबेदार रहेका शैलेश थापा क्षत्री र हरिबहादुर पाल दुवै काबिल अफिसरका रूपमा चिनिएका व्यक्ति हुनुहुन्छ ।

एकले अर्कालाई खुइल्याएर आफूले संगठन कब्जा गर्नेतिर नलागी जो भए पनि मिलेर काम गर्ने घोषणा गर्नुभयो, पूर्ववर्ती कतिपय आईजीपीहरू नियुक्त हुनुभन्दा एक महिना अघिबाटै आ–आफ्नो पक्षमा लबिङ गर्ने प्रचल यसपटक देखिएन । पछि आउने संगठन प्रमुखहरूलाई समेत उदाहरणीय बन्न प्रेरित गर्ने रणनीति अपनाएको देखियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई अवसर र चुनौती दुवै छन् । संगठनभित्र मौलाउँदै गएको गुट–उपगुटलाई परास्त पार्दै अघि बढ्नुपर्नेछ । प्रविधिको विकाससँग मौलाउँदो अवस्थामा रहेको अपराधलाई नियन्त्रण गर्नुपर्ने अर्को प्रमुख चुनौती रहेको छ । प्रहरी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने प्रमुख चुनौती पनि देखिएको छ । सरकारले शान्ति सुरक्षाको जिम्मेवारी दिएको नेपाल प्रहरीलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन जरुरी देखिन्छ । नयाँ प्रहरी महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया दिनुहोस्