सवारी दुर्घटनामा नाचघरका दुई कलाकारको निधन



न्युज अफ नेपाल,काठमाडौं ।

सवारी दुर्घटनामा परेका कलाकार तथा कोरियोग्राफर गोरन चौधरीको निधन भएको छ। सांस्कृतिक संस्थानका वरिष्ठ कार्यक्रम तथा योजना शाखा प्रमूख प्रभावकरदेव शर्माका अनुसार संस्थानमा कार्यरतचौधरीको उपचारका क्रममा मंगलबार निधन भएको हो।

उनीसँगै सवारी दुर्घटनामा परेका संस्थानका अर्का कलाकार तिलक सुनुवारको यसअघि शनिवार नै निधन भईसकेको छ। गत शुक्रवार राती साँढे १० बजे मोटरसाइकल चढेर बुढानिलकण्ठबाट चपलीस्थित निवास फर्कने क्रममा दुर्घटनामा परेका चौधरीको मंगलबार बिहान १० बजे उपचारका क्रममा महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो।

उनले चलाएको मोटरसाइकल अचानक सडकमा पार्क गरिएको डोजरमा ठोक्किन गई दुर्घटना भएको थियो। उनको मोटरसाइकलमा पछाडि बस्ने अर्का कलाकार तथा रंगमञ्च व्यबस्थापक तिलक सुनुवारको भने उपचारकै क्रममा शनिवार बिहान शिक्षण अस्पतालमा निधन भएको थियो। चौधरी र सुनुवार दुबै सांस्कृति संस्थानमा जागिरे थिए।

दाङका ३८ वर्षिय गोरन कुशल रंगकर्मी तथा उस्तै प्रतिभाशाली नृत्य कलाकार र कोरियोग्राफर थिए। उनी सांस्कृतिक संस्थानमा नृत्य सहायकका रुपमा जागिरे थिए। उनले थुप्रै नाटकका विभिन्न भूमिकामा अभिनय गरेका थिए भने दर्जनौं नृत्यमार्फत् प्रशंषा कमाएका थिए।

प्रतिक्रिया दिनुहोस्