अभिभावकद्वारा परीक्षा रोक्न र वार्षिक शुल्क खारेज गर्न आग्रह

अनलाईन कक्षा र परीक्षा वहिष्कार, शनिबार थप कार्यक्रम घोषणा गर्ने तयारी



न्युज अफ नेपाल,काठमाडौं ।

छाउनी स्थित काठमाडौं भ्याली स्कुलले अभिभावकमाथि गरेको ज्यादत्तीको विरुद्धमा ज्ञापनपत्र दिएका छन् । अभिभावकले विद्यालयका प्रिन्सिपल संगिता श्रेष्ठलाई आज ज्ञापनपत्र दिएका हुन । उनीहरुले ४० हजार रुपिया सम्म तय गरेको वार्षिक शुल्क लिने निर्णय तत्काल फिर्ता गर्नुपर्ने , परीक्षाको नौटंकी बन्द गर्नुपर्ने र अनलाईन कक्ष सञ्चालन गरेवापत लिइएको मासिक शुल्क घटाउनुपर्ने माग राखेका छन् ।

अमन तुलाधर सहितका अभिभावकले प्रिन्सिपल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन । स्कुलका अध्यक्ष डा. स्वागत श्रेष्ठले गरेको ज्यादत्तीको विरुद्धमा अनलाईन कक्षा वहिष्कार गरेका ती अभिभावकले तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन् । सो क्रममा विद्यालयका प्रिन्सिपल श्रेष्ठले सबै निर्णय गर्ने अधिकार अध्यक्ष श्रेष्ठलाई भएको बताउनुभएको अभिभावकले जानकारी गराएका छन् ।

ज्ञापनपत्र बुझाउन गएका अभिभावकलाई विद्यालय प्रशासनले छोराछोरीलाई अनलाईन कक्षामा राख्न आग्रह गरेका थिए । अभिभावकले भने यही अवस्थामा अनलाईन कक्षामा सहभागि गराउन नसकिने बताएका छन् । स्कुलको दादागिरीको विरुद्धमा सो विद्यालयका अभिभावकले काठमाडौं महानगरपालिका शिक्षा शाखा र प्याब्सन काठमाडौ जिल्लामा उजुरी दिएका थिए । उजुरीको विषमा दुवै निकायले छलफल गरिरहेको छ ।

कामपा शिक्षा शाखा प्रमुख सितारमा कोइरालाले स्थानीय निकायको निर्देशन विरुद्ध चल्ने कुनैपनि विद्यालयलाई कारबाही गरिने बताउनभुयो । भन्नुभयो–घटनाको विषयमा छानविन गरिरहेका छौ, यदी विद्यालयले अटेर गरेमा कामपा शिक्षा ऐन अनुसार कारबाही गर्नेछौ । अभिभावले शनिवार भेला बोलाएर परीक्षा स्थगित गराउने, वार्षिक शुल्क फिर्ता गर्नुपर्ने र मासिक शुल्क घउानुपर्ने विषयमा निर्णय गर्ने भएको छ ।

अभिभावक तुलाधरले पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि बाध्य भएर अनलाईन कक्षा र परीक्षा वहिष्कार गरेको बताउनुभयो । विद्यालय प्रशासनले भने कक्षा वहिष्कार गरेका सबै अभिभावकलाई टेलिफोन गर्दै कक्षा लिन आग्रह गरिरहेको छ । प्रिन्सिपल श्रेष्ठले प्याब्सन केन्द्रको निर्णय अनुसार अघि बढ्ने आश्वासन अभिभावकलाई दिनुभएको थियो । तर प्यासनले स्कुलको शुल्क लिने प्रकृतिलाई अपराधको संज्ञा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्